कञ्चनपुर: एसियान पेन्ट कप–२०२६ मा उपविजेता बनेको सुदूरपश्चिम प्रदेशको छात्रा फुटबल टोलीलाई कञ्चनपुर जिल्ला फुटबल संघले खेलाडीको प्रोत्साहनस्वरूप २० सेट जर्सी र १० थान फुटबल हस्तान्तरण गरेको छ।

सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता पार गर्दै केन्द्रीय स्तरसम्म पुगेको छात्रा फुटबल टोलीलाई खेलप्रति थप उत्साहित बनाउन खेलकुद सामग्री प्रदान गरिएको कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलले जानकारी दिनुभयो।

बुधबार पुनर्वास नगरपालिका–७ स्थित सिद्धार्थ युवा क्लबको आयोजनामा सञ्चालित १६औँ रनिङ चाँदी कप फुटबल प्रतियोगिताको फाइनल खेलका क्रममा उक्त सामग्री हस्तान्तरण गरिएको हो।

सामग्री हस्तान्तरण कार्यक्रममा पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्मा, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव लोकबहादुर खड्का, परिषद्का सदस्य काशीराम बोहरा, कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेशबहादुर चन्द, उपाध्यक्ष दाउत तामाङ, सदस्य प्रजापति भट्ट, सिद्धार्थ युवा क्लबका अध्यक्ष प्रकाश तामाङ, ग्रासरुट संयोजक किरण परियार, प्रशिक्षक हिमाल मल्ल तथा खेलाडीहरूको उपस्थिति रहेको थियो।
कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्षलगायत पदाधिकारीहरूको सहभागितामा प्रदान गरिएको उक्त खेलकुद सामग्रीले छात्रा खेलाडीहरूको मनोबल उच्च बनाउनुका साथै आगामी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ। महिला तथा छात्रा फुटबलको विकास, खेलाडीको क्षमता अभिवृद्धि र खेलकुदप्रतिको आकर्षण बढाउन यस्ता प्रोत्साहनमूलक कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।










