कञ्चनपुर: विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा कञ्चन समाज, कञ्चनचोक, ऐंठपुर र भीमदत्त नगरपालिका–६ वडा कार्यालयको संयुक्त आयोजनामा पिङ स्थापना गरिएको छ।

अष्टमीका दिन आयोजित एक कार्यक्रमबीच भीमदत्त नगरपालिका–६ का वडा अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि प्रकाश चन्दले पिङको उद्घाटन गर्नुभएको हो। कार्यक्रम कञ्चन समाजका अध्यक्ष सूर्यबहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको थियो।

नेपाली मौलिक संस्कृति, परम्परा तथा चाडपर्वको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको पिङले स्थानीयवासीबीच आपसी सद्भाव, भाइचारा र खुसीयाली अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ।

दसैँका अवसरमा पिङ खेल्ने परम्परालाई निरन्तरता दिँदै स्थानीय समुदायबीच एकता, मेलमिलाप र सामाजिक सद्भाव कायम राख्न यस कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। कार्यक्रमबारे जानकारी दिँदै कञ्चन समाजका सचिव नितेश रावलले नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै चाडपर्वलाई सामूहिक रूपमा मनाउने उद्देश्यले पिङ स्थापना गरिएको बताउनुभयो। उहाँले पिङ स्थापनाका लागि सहयोग गर्ने भीमदत्त नगरपालिका–६ वडा कार्यालय तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्नुभयो।
स्थानीय कला, संस्कृति र परम्पराको जगेर्ना गर्दै चाडपर्वलाई सामूहिक रूपमा मनाउने यस पहलले समुदायबीच आपसी एकता, सद्भाव र सहकार्यलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।











