दोधारा चाँदनी खानेपानी आयोजनाका लागि ६ करोड ७० लाखको ठेक्का आह्वान, नगरपालिकाको लागत साझेदारी


महेन्द्रनगर । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–७ र ९ मा सञ्चालन हुने दोधारा–चाँदनी खानेपानी आयोजनाका लागि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, कञ्चनपुरले बोलपत्र आह्वान गरेको छ।
कार्यालयले राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (NCB) मार्फत योग्य निर्माण व्यवसायीबाट बोलपत्र माग गरेको हो। आयोजनाका लागि निर्माण व्यवसायीको वार्षिक कारोबारको औसत योग्यता ६ करोड ७० लाख रुपैयाँ तोकिएको छ।
त्यस्तै, समान प्रकृतिको खानेपानी आयोजना तथा ओभरहेड ट्यांकी निर्माणमा कम्तीमा ५ करोड ३७ लाख २० हजार रुपैयाँ बराबरको कार्य अनुभव आवश्यक पर्नेछ। बोलपत्र दस्तुर १० हजार रुपैयाँ र बोलपत्र जमानत २९ लाख रुपैयाँ तोकिएको छ।

सअघि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, कञ्चनपुर र दोधारा–चाँदनी नगरपालिकाबीच आयोजनाको कार्यान्वयन, स्रोत व्यवस्थापन तथा सञ्चालनसम्बन्धी सम्झौता भएको थियो।
सम्झौताअनुसार आयोजनाका लागि आवश्यक सर्वेक्षण, लागत अनुमान तथा डिजाइन तयार गरी स्वीकृत गराउने जिम्मेवारी खानेपानी तथा ढल व्यवस्थापन कार्यालयको हुनेछ। आयोजनाको संरचना निर्माणका लागि आवश्यक जग्गाको व्यवस्था भने नगरपालिकाले गर्नेछ।
आयोजनाका लागि खानेपानी उपभोक्ता समिति गठन गरी प्रचलित कानुनअनुसार दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ। उपभोक्ता समिति गठन नभएसम्म आवश्यक काम नगरपालिकाले तोकेको शाखा, समिति वा निकायमार्फत गरिनेछ।
७० प्रतिशत कार्यालय, ३० प्रतिशत नगरपालिकाको लगानी
आयोजनाको कुल लागत कार्यालय र नगरपालिकाको साझेदारीमा व्यवस्थापन गर्ने सहमति भएको दोधारा–चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बूले बताए।
उनका अनुसार स्वीकृत कुल लागतको ७० प्रतिशत खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले र ३० प्रतिशत दोधारा–चाँदनी नगरपालिकाले व्यहोर्नेछ।

नगरपालिकाले पालिकावासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेकाले आयोजनाका लागि लागत साझेदारी गरिएको नगर प्रमुख लिम्बूले बताए।
निर्माण व्यवसायीलाई हुने भुक्तानीमा समेत यही अनुपात कायम हुनेछ। बिल स्वीकृत भएपछि कार्यालयले ७० प्रतिशत र नगरपालिकाले ३० प्रतिशत रकम व्यहोर्ने सम्झौतामा उल्लेख छ। नगरपालिकाले आफ्नो हिस्साको रकम बिल स्वीकृत भएको बढीमा तीन महिनाभित्र भुक्तानी गर्नुपर्नेछ।
दुवै पक्षको रकम संयुक्त खातामा राखिनेछ। विद्युत् मिटर जडानका लागि आवश्यक धरौटी रकम जम्मा गर्ने जिम्मेवारीसमेत नगरपालिकाको हुनेछ।
निर्माणपछि नगरपालिकालाई हस्तान्तरण
निर्माण कार्य सम्पन्न भएपछि Testing and Commissioning गरी आयोजना सञ्चालनयोग्य अवस्थामा पुगेपछि खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले सम्बन्धित खानेपानी उपभोक्ता समितिलाई आयोजना हस्तान्तरण गर्नेछ। उपभोक्ता समिति गठन नभएको अवस्थामा आयोजना नगरपालिकालाई हस्तान्तरण गरिनेछ।
निर्माण व्यवसायीले Taking Over Certificate जारी गरेको मितिले १५ दिनभित्र हस्तान्तरण प्रक्रिया पूरा गर्नुपर्नेछ। त्यसपछि आयोजनाको सञ्चालन, नियमित मर्मतसम्भार, रेखदेख तथा सुरक्षाको जिम्मेवारी नगरपालिकाको हुनेछ।
आयोजना निर्माणका क्रममा पाइपलाइनको अलाइनमेन्टमा पर्ने निजी जग्गासम्बन्धी विवाद समाधान, सडक काट्नुपर्ने अवस्था आएमा सहजीकरण तथा विद्युत् र टेलिकमलगायत सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने जिम्मेवारी पनि नगरपालिकाले लिने सम्झौतामा उल्लेख छ।


Loading Viewer...

ताजा समाचार

spot_img