अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसकै दिन सांसद महताले उठाए अभिभावकविहीन बालबालिका र ज्येष्ठ नागरिकका समस्या


काठमाडौं : अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसकै दिन प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महताले कञ्चनपुरका अभिभावकविहीन बालबालिका तथा बेसहारा ज्येष्ठ नागरिकहरूको समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आज बसेकाे बैठककाे शून्य समयमा बोल्दै सांसद महताले कञ्चनपुरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा २४ जना अभिभावकविहीन बालबालिका आश्रित रहेको जानकारी गराए।

त्यस्तै, भीमदत्त नगरपालिका र बेदकोट नगरपालिकामा रहेका दुई ज्येष्ठ नागरिक आश्रममा २२ महिला र ५१ पुरुष गरी ७३ जना बेसहारा तथा अशक्त ज्येष्ठ नागरिक आश्रित रहेको उनले बताए। महताका अनुसार ती आश्रमहरूको भौतिक संरचना जीर्ण अवस्थामा रहेको तथा खाना, आवास र कपडाजस्ता आधारभूत आवश्यकताको समेत पर्याप्त सुनिश्चितता हुन सकेको छैन। आश्रमहरू दाताहरूको ‘मुठ्ठीदान’मा निर्भर भएर सञ्चालन भइरहेको भन्दै उनले सरकारको तत्काल ध्यान जानुपर्ने बताए।

उनले संविधानले नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार र आधारभूत आवश्यकताको सुनिश्चितता गरेको उल्लेख गर्दै सम्बन्धित मन्त्रालयले तत्काल स्थलगत अवलोकन गरि उनिहरूकाे अवस्थाबारे जानकारी लिन आग्रह गरे। महताले अभिभावकविहीन बालबालिका र ज्येष्ठ नागरिकका लागि सुरक्षित आवास, नियमित भोजन, आवश्यक कपडा, स्वास्थ्य सेवा तथा जीर्ण संरचनाको मर्मत र पुनर्निर्माणको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।


Loading Viewer...

ताजा समाचार

spot_img