काठमाडौं: कञ्चनपुर–३ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महताले दोधारा–चाँदनीलाई महेन्द्रनगरसँग जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल क्षतिग्रस्त भएपछि तत्काल पुनर्निर्माण र नदी नियन्त्रणको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्। आज बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद महताले गएराति करिब ११ बजे महाकाली नदीमा आएको बाढीको भंगालोले पुलको बीच भागमा रहेको टावर ब्लक तथा स्पर क्षेत्रमा क्षति पुर्याउँदा पुलको करिब ७५ मिटर भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको जानकारी गराए। पुल क्षतिग्रस्त भएपछि हाल दुईतर्फी आवागमन पूर्ण रूपमा बन्द भएको उनले बताए। महताका अनुसार केही दशकअघिसम्म दोधारा–चाँदनीका नागरिक आफ्नै जिल्लाको सदरमुकाम महेन्द्रनगर आउजाउ गर्न समेत भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यतामा थिए।

उक्त बाध्यताको अन्त्य गर्न २०५७ सालदेखि निर्माण सुरु भएको पुल २०६१ सालमा ९ करोड ४० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको थियो। करिब १ हजार ४५३ मिटर लामो उक्त पुल दोधारा–चाँदनीवासीका लागि आवागमनको महत्वपूर्ण माध्यम बन्नुका साथै पछिल्लो समय पर्यटकीय आकर्षणको केन्द्रसमेत बन्दै गएको उनले उल्लेख गरे। पुल क्षतिग्रस्त हुँदा विद्यार्थी, कर्मचारी तथा सर्वसाधारणको दैनिक आवागमन प्रभावित भएको भन्दै सांसद महताले पर्यटन व्यवसायमा समेत असर पर्ने बताए। रातिको समयमा घटना भएकाले मानवीय क्षति हुन नपाएको उनले जानकारी दिए। ‘यो केवल एउटा पुलमा भएको भौतिक क्षति होइन, महाकालीपारिका हजारौँ नागरिकको दैनिक जीवन, आवागमन र अवसरसँग जोडिएको विषय हो,’ महताले सदनमा भने।

उनले तत्काल प्राविधिक टोली घटनास्थलमा खटाई पुलको क्षतिको विस्तृत प्राविधिक अध्ययन गर्न, क्षतिग्रस्त संरचनाको पुनर्निर्माणसँगै सम्पूर्ण पुलको संरचनागत सुरक्षाको परीक्षण गर्न र यथाशीघ्र पुल सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाउन सरकारसँग माग गरे। त्यस्तै, महाकाली नदीमा आउने बाढी तथा कटानबाट भविष्यमा पुल र आसपासका महत्वपूर्ण संरचनामा क्षति हुन नदिन आवश्यक तटबन्ध, नदी नियन्त्रण तथा दीर्घकालीन संरक्षणका कार्यक्रम सञ्चालन गर्न पर्याप्त बजेट र आवश्यक प्रक्रिया तत्काल सुनिश्चित गर्न पूर्वाधार विकास मन्त्रालयको ध्यानाकर्षण गराए।











