शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पूर्ण समावेशी बनाउन जोड

विश्वविद्यालयलाई पहुँचयुक्त तथा पूर्ण समावेशी अपाङ्गतामैत्री बनाउन १३ बुँदे सुझाव पेश


कञ्चनपुर: राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, सुदूरपश्चिम प्रदेशले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पूर्ण समावेशी, पहुँचयुक्त तथा अपाङ्गतामैत्री बनाउन १३ बुँदे सुझाव पेश गरेको छ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, सुदूरपश्चिम प्रदेशका अध्यक्ष नन्दराज भट्टसहितको नेतृत्वमा कार्यसमिति पदाधिकारीले विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिलकुमार जोशी र रजिस्ट्रार डा.भीमबहादुर चन्द समक्ष उक्त सुझाव पेश गरेको हो।

महासंघले विश्वविद्यालयमा युनिभर्सल डिजाइन (Universal Design), रिजनरेबल एकोमोडेसन (Reasonable Accommodation), पहुँचयुक्त पूर्वाधार, समावेशी शिक्षा, स्वास्थ्य सेवा, सूचना प्रविधि, रोजगारी तथा समावेशी शासन प्रणालीलाई प्राथमिकतामा राख्न सुझाव दिएको छ।

त्यसैगरी, विश्वविद्यालयका भौतिक संरचना तथा सेवा सुविधालाई सबै प्रकारका अपाङ्गता भएका व्यक्तिले सहज रूपमा प्रयोग गर्न सक्ने गरी पहुँचयुक्त बनाउन, सूचना तथा सञ्चार प्रविधिमा पहुँच सुनिश्चित गर्न र शिक्षा तथा रोजगारीका अवसरमा समान सहभागिता सुनिश्चित गर्न महासंघले जोड दिएको छ।

महासंघले अपाङ्गता भएका व्यक्तिका अधिकार र आवश्यकतालाई विश्वविद्यालयको नीति, योजना, कार्यक्रम तथा प्रशासनिक संरचनामा समेट्नुपर्नेमा समेत जोड दिएको छ। सुझाव ग्रहण गर्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा जोशी र रजिस्ट्रार डा. चन्दले अपाङ्गता समावेशी नीति, योजना, प्रशासन तथा संरचनामार्फत सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

विश्वविद्यालयलाई सबैका लागि समान, सहज र पहुँचयुक्त शैक्षिक तथा स्वास्थ्य संस्थाका रूपमा विकास गर्न अपाङ्गता भएका व्यक्तिको सहभागिता र आवश्यकतालाई संस्थागत रूपमा सम्बोधन गरिने उनीहरूको भनाइ छ।

 

 


Loading Viewer...

ताजा समाचार

spot_img