कञ्चनपुर,
कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रमा रहेको राम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको पन्ध्रौं साधारण सभाले महिला मात्र भएको कार्यसमिति चयन गरेको छ ।
शनिबार भएको सामुदायिक वनको साधारण सभाले पार्वती अवस्थीको अध्यक्षतामा महिला मात्रै पदाधिकारी भएको ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । नव गठित कार्यसमितिको उपाध्यक्षमा राजु बिष्ट, सचिवमा परमेश्वरी जोशी, कोषाध्यक्षमा कलावती चन्द, सहसचिवमा मन्जु नायक र सदस्यहरुमा लक्ष्मी भट्ट, ईश्वरी भट्ट, धना दमाइ र राधादेवी धामी रहेका छन् । साधारण सभाले निवर्तमान अध्यक्ष कृष्ण देव भट्टको संयोजकत्वमा जानकी देवी पनेरु र गोपालसिंह धानुक सदस्य रहने गरी सल्लाहकार समिति समेत गठन गरिएको हो।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर – १६ मा वि सं २०६१ सालमा स्थापना भएको सामुदायिक वन साडे तिन हेक्टर जमिनमा फैलिएको छ । भिमदत्त नगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष सुरेन्द्र बिष्टको प्रमुख आतिथ्यता र वडा नम्बर १७ का वडाध्यक्ष हिमाल चन्दको विशिष्ट आतिथ्यतामा भएको साधारण सभाको अध्यक्षता निवर्तमान अध्यक्ष कृष्ण देव भट्टले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन निवर्तमान सचिव पर्शुराम भट्टले गर्नु भएको थियो ।

