महेन्द्रनगर : उच्च शिक्षामा लैङ्गिक समानताको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुदूरपश्चिम विश्वविद्यालय (सुपवि) का विद्यार्थी सद्भावना दूतहरूले महेन्द्रनगरस्थित महेन्द्र स्मारकमा जनचेतनामूलक सडक नाटक तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन्। सुदूरपश्चिम विश्वविद्यालयसहित नेपाली, बङ्गलादेशी तथा युरोपेली विश्वविद्यालयहरूको समन्वयमा सञ्चालित MAGENDA परियोजनाको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थी, स्थानीय व्यापारी, गृहिणीलगायत उल्लेख्य सङ्ख्यामा नागरिकहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवात सुदूरपश्चिम प्रदेशमा लोकप्रिय देउडा नाचबाट गरिएको थियो। मनोरञ्जनका माध्यमबाट लैङ्गिक विभेदको अन्त्य गर्नुपर्ने सन्देश प्रवाह गर्दै प्रस्तुत गरिएको देउडा नाचले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।


त्यसपछि विद्यार्थी सद्भावना दूतहरूले उच्च शिक्षामा लैङ्गिक समानताको विषयमा केन्द्रित जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेका थिए। नाटकमार्फत उच्च शिक्षामा महिला तथा पुरुषबीच समान अवसरको आवश्यकता, लैङ्गिक विभेदको अन्त्य र समानता, सम्मान तथा समावेशिताको महत्त्वलाई प्रस्तुत गरिएको थियो। विद्यार्थीहरूले आफ्नो अभिनयमार्फत समाजमा विद्यमान लैङ्गिक असमानताका विभिन्न पक्षलाई उजागर गर्दै सकारात्मक सामाजिक परिवर्तनको सन्देश प्रवाह गरेका थिए।


कार्यक्रममा MAGENDA परियोजनाका टोली संयोजक गम्भीरबहादुर चन्दले विद्यार्थीहरूको यस सानो प्रयासले समाजमा ठूलो परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले लैङ्गिक समानतासम्बन्धी चेतना अभिवृद्धि गर्न विद्यार्थीहरूको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै यस्ता सिर्जनात्मक गतिविधिले सामाजिक सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने बताए। त्यसैगरी, सडक नाटक अवलोकन गर्न पुगेकी स्थानीय नागरिक जानकी थापाले नाटकको सन्देश राम्रो र प्रभावकारी रहेको बताइन्। आफ्नै गाउँठाउँका विद्यार्थीहरूले लैङ्गिक चेतनाप्रति संवेदनशील हुँदै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको देख्दा आफू खुसी भएको उनले व्यक्त गरिन्। कार्यक्रमको अन्त्यमा पुनः सुदूरपश्चिम प्रदेशको मौलिक सांस्कृतिक पहिचानका रूपमा रहेको देउडासहितको सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। सांस्कृतिक प्रस्तुतिमार्फत पनि लैङ्गिक विभेदको अन्त्य गर्दै समानता, आपसी सम्मान र सद्भाव कायम गर्नुपर्ने सन्देश प्रवाह गरिएको थियो। मनोरञ्जन र जनचेतनालाई एकसाथ जोड्दै प्रस्तुत गरिएको सांगीतिक कार्यक्रमसँगै कार्यक्रम समापन गरिएको थियो।


कार्यक्रममा MAGENDA परियोजनाका टोली संयोजक गम्भीरबहादुर चन्दसहित टोलीका सदस्यहरू डा. दीपकचन्द्र भट्ट, हरिश सामन्त, निर्मला धामी, हरि प्रसाद बडू र शैलेश पालको समेत उपस्थिति रहेको थियो। विद्यार्थी सद्भावना दूतहरूद्वारा प्रस्तुत सडक नाटक, देउडा नाच तथा सांगीतिक कार्यक्रमले उच्च शिक्षामा लैङ्गिक समानताको विषयलाई आम नागरिकमाझ पुर्याउनुका साथै लैङ्गिक विभेदमुक्त, समावेशी तथा समान अवसरयुक्त समाज निर्माणका लागि सकारात्मक सन्देश दिएको छ। यस्ता जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता र सिर्जनात्मक सीपको विकास गर्नुका साथै समुदायमा लैङ्गिक समानतासम्बन्धी चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।










