धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भौतिक फोहोर सफा गरेजस्तै प्रदेशको बजेटमा देखिएका बेथिति र विकृति पनि सफा गर्दै नीति, विधि र पद्धतिमा आधारित बजेट निर्माण गर्ने बताउनुभएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय तथा मुख्यमन्त्री निवास परिसरमा आयोजित सरसफाइ कार्यक्रममा सहभागी हुँदै मुख्यमन्त्री भट्टले समाजका हरेक क्षेत्रमा सरसफाइ आवश्यक रहेको बताउनुभयो।

उहाँले कुनै पनि क्षेत्रको सरसफाइले सभ्यता, संस्कार र संस्कृतिको पहिचान झल्काउने उल्लेख गर्दै भौतिक फोहोरसँगै शासन व्यवस्था, नीति, प्रक्रिया र बजेटमा देखिएका बेथितिको समेत सफाइ आवश्यक रहेको बताउनुभयो। नेपाली जनताको लामो संघर्ष, बलिदान र राष्ट्रिय सहमतिको जगमा निर्माण भएको नेपालको संविधान सबै वर्ग, जाति, क्षेत्र र लिंगका नागरिकको साझा दस्ताबेज भएको उहाँको भनाइ थियो। संविधानले जनताको सर्वोच्चतालाई स्थापित गरेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले राजनीतिक व्यवस्था परिवर्तनपछि अब नागरिकको अवस्था परिवर्तन गर्ने चरणमा आफूहरू रहेको बताउनुभयो।

“व्यवस्था परिवर्तनपछि अब अवस्था परिवर्तनको चरणमा छौँ। त्यसका लागि हरेक क्षेत्रमा सुधार र सरसफाइ आवश्यक छ,” मुख्यमन्त्री भट्टले भन्नुभयो। प्रदेशमा बजेट शून्यताको अवस्था अन्त्य गर्दै नीति, विधि र पद्धतिमा आधारित भएर छिट्टै बजेट ल्याउने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो।कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाटले पछिल्लो समय भएको जनजी आन्दोलनका क्रममा विभिन्न स्थानमा क्षति पुगेका कारण सेवाग्राही बस्ने स्थान तथा सरकारी कार्यालय परिसरमा फोहोर जम्मा भएकाले सरसफाइ गरिएको बताउनुभयो।

त्यस्तै, राज्यमन्त्री जानकीदेवी कुँवरले सरसफाइ स्वच्छता र स्वास्थ्यका दृष्टिले समेत अत्यन्त महत्वपूर्ण रहेको बताउँदै सरसफाइ अभियानलाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। संविधान दिवसका अवसरमा भोलि आयोजना हुने सार्वजनिक कार्यक्रमको पूर्वसन्ध्यामा आज प्रदेश सरकारका विभिन्न कार्यालय तथा परिसरमा सरसफाइ कार्यक्रम आयोजना गरिएको हो।










