धनगढी : लामो समयदेखि बन्द रहेको सेती प्रादेशिक अस्पतालको पुरानो भवन अगाडिको गेट खोलिएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टको निर्देशनपछि गेटा खुला गरिएको हो । प्रसुति कक्ष अगाडि मुख्य सडक जोड्ने गेट बन्द हुँदा आवतजावतमा असहज भएको गुनासो सेवाग्राहीले गर्दै आएका थिए ।

मुख्यमन्त्री भट्टको सचिवालयका अनुसार सेवाग्राहीको गुनासोका आधारमा मुख्यमन्त्रीले सामाजिक विकास मन्त्रालयमार्फत गेट खोल्न अस्पताललाई निर्देशन दिएका थिए । सडक निर्माणका क्रममा गेट अगाडि राखिएका केही ढुङ्गा र ग्राभेल भने हटाइएको छैन । त्यसलाई पनि हटाइने अस्पतालले जनाएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोरकुमार श्रेष्ठले सेवाग्राहीलाई आवतजावतमा सहज होस् भनेर गेट खोलिएको बताए ।

गेट बन्द हुँदा आवतजावतमा समस्या भएको गुनासो सेवाग्राहीबाट आउने गरेको उनले बताए । प्रसुति केन्द्र अगाडिको गेट बन्द गरेर भित्र गेट अगाडि सवारी साधन पार्किङ गर्ने गरिएको थियो । प्रसुति कक्षमा जाने सेवाग्राहीले आकस्मिक कक्ष रहेको भवनको अगाडि रहेको गेट प्रयोग गर्दै आएका थिए ।











