डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बजेटविहीनताको अवस्थाको अन्त्य गर्दै फास्ट ट्र्याकबाट नयाँ बजेट ल्याउने बताउनुभएको छ। नेपाल पत्रकार महासंघ डडेलधुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले विगतका बेथिति अन्त्य गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी बजेट निर्माण गरिने बताउनुभएको हो।

मुख्यमन्त्री भट्टले जनताको वास्तविक प्राथमिकतालाई केन्द्रमा राखेर जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयलाई बजेटमा समेटिने बताउनुभयो। उहाँले दुर्गम तथा सीमान्तकृत समुदायका भावना, आवश्यकता र योजनालाई समेत प्राथमिकताका साथ सम्बोधन गरिने स्पष्ट पार्नुभयो। “जनताले परिवर्तनको अनुभूति गर्ने गरी बजेट आउँछ,” मुख्यमन्त्री भट्टले भन्नुभयो, “राम्रा सुरुवातलाई आत्मसात् गर्दै विगतमा देखिएका बेथितिको अन्त्य गरेर बजेटलाई आम नागरिकको अपनत्व हुने गरी निर्माण गर्छौँ।”

उहाँका अनुसार शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटनलगायत प्रदेशका सबै महत्वपूर्ण क्षेत्रलाई समेटेर देखिने र महसुस गर्न सकिने परिवर्तन ल्याउने गरी बजेटको व्यवस्था गरिनेछ। बजेटमा विगतका कमजोरीलाई सच्याउँदै आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गरिने उहाँको भनाइ छ।
मुख्यमन्त्री भट्टले बजेटको पुनर्लेखन हुने उल्लेख गर्दै प्रदेशको आवश्यकता र जनताको अपेक्षालाई केन्द्रमा राखेर नयाँ आयामसहित बजेट अघि बढाइने बताउनुभयो।

उहाँले बजेट निर्माण प्रक्रियामा जनताका प्रत्यक्ष सरोकारका विषयलाई प्राथमिकता दिइनेसमेत स्पष्ट पार्नुभयो। यसैगरी, दैजी–जोगबुढा सडक प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउँदै मुख्यमन्त्री भट्टले प्रदेशका महत्वपूर्ण र रणनीतिक योजनालाई प्राथमिकताका साथ अघि बढाइने जानकारी दिनुभयो।
राजधानी निर्माण केवल भौतिक संरचना निर्माणको विषय नभई सुदूरपश्चिमको मौलिकता र पहिचानलाई स्थापित गर्ने अभियानका रूपमा अघि बढाइने मुख्यमन्त्री भट्टको भनाइ छ। मुख्यमन्त्री भट्टले नयाँ बजेटमार्फत विगतका अभ्यास र कमजोरीलाई सुधार गर्दै प्रदेशको विकासमा नयाँ आयाम थपिने दाबी गर्नुभयो।










