कञ्चनपुर : जन्मदिनलाई केवल व्यक्तिगत उत्सवमा सीमित नराखी सामाजिक सेवा, शिक्षा र परोपकारसँग जोड्ने उद्देश्यका साथ कञ्चनपुरका दिदीभाइले विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्। भीमदत्त नगरपालिका–३ भाँसीकी मञ्जु भट्ट र शुक्लाफाँटा नगरपालिका–७ जुडाका कृष्ण भट्टले आइतबार शुक्लाफाँटा नगरपालिका–७ स्थित श्री धर्म जनता माध्यमिक विद्यालयमा अध्ययनरत असहाय, टुहुरा, बुवा आमा विहीन २५ जना विद्यार्थीलाई कापी र कलम वितरण गरेका हुन्। कृष्ण हाल पुनर्वास नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयमा प्रशासकीय अधिकृत तथा सूचना अधिकारीका रूपमा कार्यरत छन्। उनी र मञ्जु भट्ट दुवै श्री धर्म जनता माध्यमिक विद्यालयका पूर्वविद्यार्थी हुन्।

दुवैको जन्मदिन साउन १५ गते पर्ने भएकाले आफूहरूले अध्ययन गरेको विद्यालयमै पुगेर विद्यार्थीलाई सहयोग गर्दै जन्मदिनलाई सेवामूलक बनाउने अभियानलाई निरन्तरता दिएका हुन्। शैक्षिक सामग्री वितरणको उद्देश्यबारे कृष्ण भट्टले जन्मदिनलाई व्यक्तिगत उत्सवमा मात्र सीमित नराखी समाजप्रति उत्तरदायित्व, मानवीय सेवा र परोपकारसँग जोड्न आवश्यक रहेको बताए। उनले भने, “उत्सवको वास्तविक सौन्दर्य समाजसँग बाँडिएको खुसीमा निहित हुन्छ। जन्मदिनलाई व्यक्तिगत उत्सवमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व, मानवीय सेवा र परोपकारको भावनासहित मनाउनुपर्छ।” भट्ट दिदीभाइले आफूले अध्ययन गरेको विद्यालयका विद्यार्थीलाई सहयोग गरेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने तथा जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताएका छन्।

विद्यालय परिवारले सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सेवामुखी अभियानले विद्यार्थीमा अध्ययनप्रतिको उत्साह र प्रेरणा बढाउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरेको छ। ‘जन्मदिनलाई सेवामय बनाउने प्रेरणादायी अभियान’ अन्तर्गत गरिएको यस सहयोगले जन्मोत्सवलाई केवल व्यक्तिगत उत्सवमा सीमित नराखी शिक्षा, सेवा र सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ। “सेवा नै धर्म हो, परोपकार नै पुण्य हो” भन्ने सन्देशलाई व्यवहारमा उतार्दै गरिएको यस अभियानको प्रशंसा गरिएको छ । शैक्षिक सामग्री वितरण कार्यक्रममा शिक्षक बिक्रम महरा, हरिलाल भट्ट,असोक बमं र हेमा भट्ट लगायतको उपस्थीति रहेको थियो ।











