महाकाली नदीको बीचमा फसेका एक व्यक्तिको सकुशल उद्धार


कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ४ मालिका टोलस्थित महाकाली नदीको बीचमा फसेका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । मंगलबार बिहान करिब ९ः१५ बजे दोधारा चाँदनी ४ निवासी ४५ वर्षीय रामबहादुर सिंह (मानसिक अवस्था सामान्य नरहेको) पौडी खेल्न महाकाली नदीमा गएका बेला नदीको बहाव एक्कासि बढेपछि झुलुङ्गे पुलबाट करिब दुई किलोमिटर दक्षिण नदीको बीचमा फसेका थिए । पानीको सतह बढेसँगै उनी किनारमा फर्किन नसकेपछि स्थानीयले तत्काल सशस्त्र प्रहरीलाई खबर गरेका थिए ।

सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म देवीस्थानबाट सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर महराको नेतृत्वमा १० सदस्यीय उद्धार टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो । टोलीमा विपद् व्यवस्थापन तालिमप्राप्त पाँच जना सुरक्षाकर्मी, रबर बोट तथा आवश्यक उद्धार सामग्रीसमेत रहेको थियो । बिहान ९ः२५ बजे घटनास्थल पुगेको उद्धार टोलीले नदीको तीव्र बहावबीच जोखिमपूर्ण ढंगले उद्धार अभियान सञ्चालन गर्दै करिब एक घण्टाको प्रयासपछि बिहान १०ः२० बजे रामबहादुर सिंहलाई सकुशल उद्धार गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।

उद्धारपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको र आवश्यक निगरानीका लागि परिवारजनको जिम्मा लगाइएको सशस्त्र प्रहरी बलले जनाएको छ । स्थानीयवासीले समयमै सुरक्षाकर्मी परिचालन भएकाले सम्भावित मानवीय क्षति टरेको बताएका छन् ।

यसैबीच, निरन्तर वर्षाका कारण महाकाली नदीको बहाव बढ्ने क्रम जारी रहेकाले नदी तथा खोला आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन सुरक्षा निकायले आग्रह गरेको छ । विशेषगरी नदीमा पौडी खेल्ने, माछा मार्ने, दाउरा संकलन गर्ने वा फोटो तथा भिडियो खिच्ने उद्देश्यले नदीको बीच भाग वा किनार नजिक जाने कार्य अत्यन्त जोखिमपूर्ण हुने भएकाले यस्ता गतिविधिबाट टाढा रहन अनुरोध गरिएको छ ।

मानसिक अवस्था सामान्य नरहेका व्यक्ति, अशक्त, अपांगता भएका व्यक्ति , बालबालिका तथा ज्येष्ठ नागरिकलाई नदी तथा अन्य जोखिमयुक्त स्थानमा एक्लै जान नदिई परिवारका सदस्यले विशेष निगरानी राख्नुपर्ने आवश्यकता पनि यस घटनाले देखाएको सशस्त्र प्रहरी नायव उपरीक्षक योग्य बस्नेतको भनाइ छ । विपद्का बेला समयमै सूचना दिनु र सुरक्षा निकायसँग समन्वय गर्नु नै मानवीय क्षति न्यूनीकरण गर्ने सबैभन्दा प्रभावकारी उपाय भएकाले कुनै पनि आपत्कालीन अवस्था देखिएमा तत्काल प्रहरी वा सशस्त्र प्रहरीलाई जानकारी गराउन प्रशासनले सबैलाई आग्रह गरेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img