कञ्चनपुर : कंचनपुरको रेडियन्ट माध्यमिक विद्यालयमा २१३ औं भानु जयन्ती भव्यताका साथ मनाइएको छ। सोमबार विद्यालय प्राङ्गणमा विभिन्न कार्यक्रमको आयोजना गरी भानु जयन्ती मनाइएको हो।

भानु जयन्तीको विशेष अवसरमा विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका तथा विद्यार्थीहरूले आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धासुमन व्यक्त गरेका थिए। सो क्रममा सहभागीहरूले नेपाली भाषा र साहित्यको उत्थानमा आदिकवि भानुभक्तले पुर्याएको योगदानको बारेमा चर्चा समेत गरेका थिए।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक सूर्य बहादुर चन्दले भानुभक्त आचार्यले नेपाली भाषालाई एकसूत्रमा बाँध्न खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो । उहाँले रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरेर भानुभक्तले नेपाली साहित्यलाई आम नागरिकको पहुँचमा पुर्याएको उल्लेख गर्दै विद्यार्थीहरूले पनि आफ्नो भाषा, संस्कृति र साहित्यको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा विद्यार्थीहरूले आदिकवि भानुभक्त आचार्यको सम्झनामा कविता तथा रामायणका श्लोकहरू वाचन गरेका थिए। कार्यक्रमको संचालन विद्यालयका शिक्षक लोकेन्द्र भट्टले गर्नुभएको थियो ।










