काठमाडौं/असार :— प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्दै कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महताले कञ्चनपुरका विभिन्न बस्ती वर्षायामसँगै बाढी, डुबान तथा नदी कटानको उच्च जोखिममा परेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।
सांसद महताले दोधारा–चाँदनी क्षेत्रका बस्तीहरू प्रत्येक वर्ष जोगबुढा नदी र महाकाली नदीमा आउने बाढीका कारण डुबानको जोखिममा पर्ने गरेको उल्लेख गर्नुभयो।

साथै, भीमदत्त नगरपालिका–९ को खल्ला मुसेटी क्षेत्रमा खहरे खोलाबाट हुने कटान तथा बाढीको जोखिम अत्यन्त उच्च रहेको र कामिकाटे खोलाले समेत स्थानीय बस्ती तथा खेतीयोग्य जमिनमा निरन्तर क्षति पुर्याइरहेको बताउनुभयो। उहाँले चुरे क्षेत्रबाट बग्ने खन्या खोलाका कारण भीमदत्त नगरपालिका–१, २ र ३ का बस्तीहरू पनि उच्च जोखिममा रहेको उल्लेख गर्दै श्रीलंकाटोल, भुजेला, भासी लगायतका क्षेत्रमा डुबान र नदी कटानका कारण स्थानीय नागरिक त्रासपूर्ण अवस्थामा जीवनयापन गर्न बाध्य भएको जानकारी दिनुभयो।

समयमै आवश्यक पूर्वतयारी, रोकथाम तथा संरक्षणका कार्यहरू अघि नबढाइए ठूलो जनधनको क्षति हुन सक्ने भन्दै सांसद महताले उच्च जोखिमयुक्त क्षेत्रमा विशेष निगरानी बढाउन, उद्धार तथा राहत सामग्री पूर्वतयारी अवस्थामा राख्न, आवश्यक सुरक्षाकर्मी परिचालन गर्न तथा दीर्घकालीन रूपमा तटबन्ध निर्माण, नदी नियन्त्रण र कटान रोकथामका काम तत्काल अघि बढाउन नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित सबै निकायसँग आग्रह गर्नुभयो।

उहाँले समयमै गरिने पूर्वसावधानी, प्रभावकारी निगरानी र पर्याप्त तयारी नै सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने सबैभन्दा प्रभावकारी उपाय भएको उल्लेख गर्दै यस विषयमा सरकारले उच्च प्राथमिकताका साथ आवश्यक कदम चाल्ने विश्वास व्यक्त गर्नुभयो।










