श्रमिक तथा मुक्त हलिया परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण


कञ्चनपुर : कञ्चनपुरका दुई स्थानीय तहका श्रमिक तथा मुक्त हलिया परिवारका बालबालिकालाई आज शैक्षिक सामग्री वितरण गरिएको छ । राष्ट्रिय मुक्तहलिया समाज महासंघको आयोजनामा सञ्चालित ‘परिश्रम परियोजना’ अन्तर्गत शुक्लाफाँटा नगरपालिकाका १५ जना र कृष्णपुर नगरपालिकाका १५ जना गरी ३० जना बालबालिकालाई आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

महासंघका केन्द्रीय उपाध्यक्ष शिवी लुहारका अनुसार विद्यार्थीलाई चालु शैक्षिक सत्रभरि प्रयोग गर्न पुग्ने गरी अभ्यास पुस्तिका, डटपेन, औजार बक्स, पेन्सिल, विद्यालय पोशाक, जुत्ता, झोला, लगायतका सामग्री वितरण गरिएको छ । आर्थिक अभावका कारण बालबालिकाको शिक्षामा कुनै बाधा नपरोस् भन्ने उद्देश्यले सहयोग गरिएको उहाँले बताउनुभयो । शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले शिक्षा प्रत्येक बालबालिकाको आधारभूत अधिकार भएकाले आर्थिक रूपमा विपन्न तथा श्रमिक परिवारका बालबालिकाको शिक्षामा पहुँच बढाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।

“स्थानीय सरकार सबै बालबालिकालाई शिक्षाको अवसर सुनिश्चित गर्न प्रतिबद्ध छ, श्रमिक तथा मुक्त हलिया परिवारका बालबालिकाको पठनपाठनमा सहयोग पुग्ने यस्ता कार्यक्रमलाई सकारात्मक रूपमा लिएका छौं, आगामी दिनमा पनि आवश्यक सहकार्य र सहयोगलाई निरन्तरता दिनेछौं ।” महासंघका कर्मचारी गणेश ताम्राकारका अनुसार दुवै नगरपालिकाका सामुदायिक विद्यालयको सिफारिसका आधारमा आर्थिक अवस्था, पारिवारिक अवस्था र आवश्यकता मूल्याङ्कन गरी शैक्षिक सामग्रीका लागि विद्यार्थी छनोट गरिएको हो । शैक्षिक सामग्री वितरणले विपन्न परिवारका बालबालिकालाई विद्यालयमा नियमित उपस्थित हुन र अध्ययनप्रति उत्साहित बन्न तथा शैक्षिक निरन्तरतामा टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नु भएको छ । अन्य पालिकाका श्रमिक तथा मुक्त हलिया परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्ने योजना रहेको उहाँले उल्लेख गर्नु भयो ।


Loading Viewer...

ताजा समाचार

spot_img