रेडियन्ट मा.वि. का विद्यार्थीद्वारा वृद्धाश्रमको स्थलगत भ्रमण


कञ्चनपुर: ज्येष्ठ नागरिकलाई सहयोग कञ्चनपुरको महेन्द्रनगरमा रहेको रेडियन्ट माध्यमिक विद्यालयले विद्यार्थीहरूका लागि एक दिने स्थलगत शैक्षिक तथा सामाजिक भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा अध्ययनरत कक्षा ७ र ८ का विद्यार्थीहरूले शुक्रबार बेदकोट नगरपालिकाको रौटेलामा अवस्थित बैजनाथ धाम तथा वृद्धाश्रम सेवा समितिको स्थलगत भ्रमण गरेका हुन् ।

भ्रमणका क्रममा विद्यार्थीहरूले वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरूसँग साक्षात्कार गरी उनीहरूको अवस्थाबारे जानकारी लिएका थिए । सो अवसरमा शिक्षक तथा विद्यार्थीहरूले आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई आदर-सत्कार गर्दै विभिन्न सामग्रीहरू समेत सहयोग गरेका थिए । विद्यार्थीहरूलाई किताबी ज्ञानका अतिरिक्त व्यावहारिक, सामाजिक र नैतिक शिक्षा प्रदान गर्ने उद्देश्यले उक्त भ्रमण कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक सूर्य बहादुर चन्दले बताउनुभयो ।

उहाँले विद्यार्थीहरूलाई समाजप्रति उत्तरदायी बनाउन र ज्येष्ठ नागरिकहरूको सम्मान गर्ने संस्कार सिकाउन स्थलगत भ्रमण निकै फलदायी हुने हुँदा आगामी दिनहरूमा पनि विद्यालयले यस्ता रचनात्मक तथा सामाजिक कार्यहरूलाई निरन्तरता दिने बताउनुभयो । उक्त भ्रमण कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक लोकेन्द्र भट्ट, शिक्षक विवेक डाँगा लगायत विद्यार्थीहरूको सहभागिता रहेको थियो । आश्रममा रहेका ज्येष्ठ नागरिकहरूले विद्यालय प्रशासन र विद्यार्थीहरूले गरेको सहयोग प्रति खुसी व्यक्त गर्दै आशीर्वाद समेत दिएका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img