धनगढी : आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा धनगढीमा संघीय लोकतान्त्रिक गणतन्त्र दिवस–२०८३ मनाइएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश प्रमुख नजिर मियाँ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले अतिथिका रूपमा मन्तव्य व्यक्त गर्दै गणतन्त्रको संरक्षण, सुशासन र राष्ट्रिय एकताको आवश्यकतामाथि जोड दिएका छन् ।

रावलले नेपाली जनताको लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ बनाउन सबै राजनीतिक दल, नागरिक समाज र युवापुस्ता जिम्मेवार बन्नुपर्ने बताए । उनले संविधानमार्फत स्थापित संघीय शासन प्रणालीले जनताको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै अझै पनि सुशासन, पारदर्शिता र जनउत्तरदायित्वको क्षेत्रमा सुधार आवश्यक रहेको धारणा राखे । उनले राजनीतिक अस्थिरता, भ्रष्टाचार, बेरोजगारी र युवा पलायन अहिलेका मुख्य चुनौती भएको उल्लेख गर्दै लोकतन्त्रलाई केवल राजनीतिक व्यवस्था नभई नैतिक जिम्मेवारी र जनउत्तरदायित्वको आधारमा अघि बढाउनुपर्ने बताए ।

राष्ट्रियता केवल सीमाको सुरक्षा मात्र नभई भाषा, संस्कृति, पहिचान र सार्वभौम निर्णय क्षमताको संरक्षणसँग पनि जोडिएको उनले स्पष्ट पारे । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, नागरिक समाज, पत्रकार तथा सर्वसाधारणको सहभागिता रहेको थियो । अन्त्यमा सहभागीहरूले लोकतन्त्रको सुदृढीकरण, सुशासन, समृद्धि र राष्ट्रिय एकताको मार्गमा सबै एकजुट भएर अघि बढ्नुपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।







