कञ्चनपुर,: शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित पूर्व प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको निवासमा आज परमात्मा शिवको ९०औँ अवतरण दिवसका अवसरमा झण्डारोहण तथा स्नेह मिलन कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा शिव परमात्माको ध्वजारोहणसँगै आध्यात्मिक ज्ञान, योग र नैतिक जीवनशैलीबारे चर्चा गरिएको थियो । कार्यक्रम ब्रम्हाकुमारी राजयोग केन्द्रकी प्रमुख सञ्चालिका महिमा दिदीद्वारा सञ्चालित थियो ।

परमात्मा ज्ञानको चर्चा गर्दै महिमा दिदीले वर्तमान समयमा मानिस भौतिक सुखसुविधाको पछाडि दौडिँदा मानसिक तनाव, असन्तोष र अशान्ति बढ्दै गएको बताउनुभयो । उहाँले आत्मिक शान्ति, सकारात्मक सोच र परमात्मा स्मृतिले जीवनलाई सही मार्गतर्फ डोर्याउने उल्लेख गर्दै योग र आध्यात्मिक साधनाले मानिसमा धैर्यता, अनुशासन र आत्मबल वृद्धि हुने बताउनुभयो । “मानिसले आफूलाई चिन्न सके समाज र परिवार दुवै सुखी र व्यवस्थित बन्न सक्छ,” उहाँले भन्नुभयो, “परमात्मा शिवको ज्ञानले मानव जीवनलाई सकारात्मक ऊर्जा र नैतिक मार्गतर्फ प्रेरित गर्दछ ।”

पूर्व प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले योगले स्वास्थ्यमा महत्वपूर्ण प्रभाव पार्ने बताउँदै योग अभ्यासले मानसिक शान्ति, अनुशासन र सकारात्मक सोचको विकास हुने धारणा राख्नुभयो । उहाँले परिवार र समाजलाई असल मार्गमा डोर्याउन नैतिक शिक्षा, सहिष्णुता र आत्मिक चेतनाको आवश्यकता रहेको उल्लेख गर्नुभयो । पूर्व नगर प्रमुख दिलबहादुर ऐरले यस्ता आध्यात्मिक कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाउने तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्ने बताउनुभयो ।

शिक्षक लोकराज अवस्थीले वर्तमान पुस्तामा नैतिक शिक्षा र आध्यात्मिक चेतनाको खाँचो बढ्दै गएको उल्लेख गर्दै योग र आत्मिक ज्ञानले व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा सहभागीहरूलाई महिमा दिदीद्वारा टिका ग्रहण गराउनुका साथै प्रसाद वितरण गरिएको थियो । कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।






