थिएटरको मञ्चदेखि चलचित्रसम्म चम्किएको नाम : कलाकार रामबाबु रेग्मीको प्रेरणादायी संघर्ष यात्रा


खेमराज भट्ट /काठमाडौं : नेपाली रंगमञ्च, टेलिभिजन तथा चलचित्र क्षेत्रमा निरन्तर समर्पण, अनुशासन र कलाप्रतिको अटुट विश्वासका साथ सक्रिय कलाकार हुन् रामबाबु रेग्मी। गोरखा जिल्ला, शहीद लखन गाउँपालिका–९ मा जन्मिनुभएका उहाँले सामान्य पारिवारिक पृष्ठभूमिबाट सुरु भएको जीवनलाई संघर्ष, निरन्तर अभ्यास र दृढ इच्छाशक्तिमार्फत नेपाली कला क्षेत्रमा स्थापित पहिचानमा रूपान्तरण गर्नुभएको छ।

प्रेमकुमारी (सीता) रेग्मी र अलक प्रसाद रेग्मीका जेठा सन्तानका रूपमा जन्मिनुभएका उहाँको प्रारम्भिक शिक्षा गोरखाको श्री भिमसेन आधारभूत विद्यालयबाट सुरु भएको हो भने माध्यमिक तहको शिक्षा श्री जनशक्ति माध्यमिक विद्यालयबाट पूरा गर्नुभएको थियो। बाल्यकालदेखि नै अभिनय, नाटक तथा सांस्कृतिक गतिविधिप्रति उहाँको गहिरो रुचि देखिन्थ्यो। कक्षा ९ मा अध्ययनरत रहँदादेखि नै “म कलाकार बन्छु” भन्ने अठोट बोकेका उहाँले आर्थिक अभाव, अवसरको कमी र ग्रामीण परिवेशका सीमितताबीच पनि आफ्नो लक्ष्यलाई कहिल्यै कमजोर हुन दिनुभएन। उहाँको व्यावसायिक कला यात्रा थिएटरबाट सुरु भएको हो। एम आर्ट्स थिएटर, गुरुकुल र एक्टरस् स्टुडियो जस्ता प्रतिष्ठित संस्थासँग आबद्ध हुँदै अभिनयको आधारभूत शिक्षा, अनुशासन, चरित्र निर्माण, भाव प्रस्तुति तथा स्टेज व्यवस्थापनको गहिरो अभ्यास गर्नुभयो।

थिएटरले नै उहाँलाई कलाकारिताको वास्तविक आधार दिएको मानिन्छ, जसले पछि रेडियो, टेलिभिजन र चलचित्रसम्म पुग्ने बाटो सहज बनायो। थिएटरसँगै उहाँले नाटक, सडक नाटक, रेडियो नाटक, टेलिफिल्म हुँदै चलचित्रसम्म आफ्नो यात्रा विस्तार गर्नुभयो। यस क्रममा उहाँले नेपालका ६८ जिल्लामा पुगेर सडक नाटक मञ्चन गर्नुभएको छ भने भारतका दिल्ली, कोलकाता, बेंगलोर, मैसुर र उडिसाजस्ता सहरहरूमा समेत नाटक प्रस्तुत गर्नुभएको छ। सामाजिक चेतना फैलाउने उद्देश्यले गरिएको सडक नाटकमा उहाँको सक्रियता उल्लेखनीय मानिन्छ। १०० भन्दा बढी सडक नाटकमा अभिनय गर्दै उहाँले समाजप्रति उत्तरदायी कलाकारको परिचय स्थापित गर्नुभएको छ।

रेडियो नाटक क्षेत्रमा पनि उहाँको योगदान उल्लेखनीय छ। “मै सुनाखरी”, “नयाँ बाटो नयाँ पाइला”, “भन्छिन् आमा” लगायत डेढ दर्जनभन्दा बढी रेडियो धारावाहिक नाटकमा उहाँको अभिनय श्रोतामाझ लोकप्रिय रह्यो। आवाजमार्फत चरित्रलाई जीवन्त बनाउने उहाँको क्षमता रेडियो नाटकमा विशेष रूपमा प्रशंसित भएको पाइन्छ। टेलिफिल्म क्षेत्रमा उहाँले “तितो सत्य”, “किलो ट्याङ्गो माइक”, “मेरी बास्सै”, “हर्के हल्दार”, “हाम्रो जिन्दगी”, “जुठे”, “बुहारी”, “केशरी”, “सम्झौता”, “ज्वाइँ साब” लगायतका चर्चित टेलिफिल्ममा अभिनय गर्दै दर्शकमाझ अलग पहिचान बनाउन सफल हुनुभएको छ। हास्यदेखि गम्भीर चरित्रसम्म विविध भूमिकामा सहज अभिनय गर्ने कलाकारका रूपमा उहाँलाई चिनिन्छ।

चलचित्र क्षेत्रमा पनि उहाँ उत्तिकै सक्रिय रहनुभएको छ। “छड्के”, “छक्का पन्जा”, “रेशम फिलिली”, “फाटेको जुत्ता”, “परदेशीको उमङ्ग”, “भुइँ मान्छे”, “घामड शेरे”, “फिटकिरी”, “खग्रास”, “बेहुली फ्रम मेघौली”, “पूर्णबहादुरको सारङ्गी”, “परान”, “श्री बुकुरो”, “जिरो डिग्री” लगायत चर्चित चलचित्रहरूमा उहाँको अभिनयले दर्शकको मन जितेको छ। हालसम्म उहाँले ७८ भन्दा बढी चलचित्रमा अभिनय गरिसक्नुभएको छ, जसले उहाँको निरन्तरता, मेहनत र अनुभवलाई स्पष्ट रूपमा देखाउँछ। उहाँको कलायात्रामा पाठ्यक्रम विकास केन्द्रबाट प्रथम पुरस्कार, “हल्ला” बाट उत्कृष्ट निर्देशक अवार्ड तथा विभिन्न सांस्कृतिक संस्थाबाट सम्मान प्राप्त भएका छन्। यी सम्मानहरूले उहाँको कला योगदानलाई औपचारिक रूपमा समेत स्थापित गरेका छन्।

कलाप्रतिको आफ्नो दृष्टिकोणबारे उहाँ भन्नुहुन्छ, “कलाकारितामा आएपछि जीवनलाई गहिरो रूपमा बुझ्न पाइन्छ। चरित्र, आचरण र सम्मान नै कलाकारको वास्तविक पहिचान हो।” यही सोच र समर्पणले उहाँलाई निरन्तर सिर्जनशील यात्रामा अगाडि बढाइरहेको छ। गाउँको सामान्य परिवेशबाट सुरु भएको रामबाबु रेग्मी को यात्रा आज नेपाली थिएटर, रेडियो, टेलिभिजन र चलचित्र क्षेत्रमा प्रेरणादायी उदाहरण बनेको छ। संघर्ष, समर्पण र निरन्तर मेहनतकै बलमा उहाँले नेपाली कला क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्दै महत्वपूर्ण योगदान दिन सफल हुनुभएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img