कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका भित्रका सामुदायिक विद्यालयमध्ये यस वर्षको एसईई परीक्षामा बैजनाथ माध्यमिक विद्यालय कसरौल उत्कृष्ट नतिजासहित अव्वल बनेको छ ।
विद्यालयबाट एसईई परीक्षामा सहभागी २८ जना विद्यार्थीमध्ये २२ जना उत्तीर्ण भएका छन् । तीमध्ये छ जना विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेका छन् । विद्यालयकी छात्रा मेनुका जोशी ले ३ दशमलव ८२ जीपीए ल्याएर नगर क्षेत्रकै सामुदायिक विद्यालयतर्फ सर्वाधिक अंक हासिल गर्न सफल हुनुभएको छ ।

नगर क्षेत्रकै एसइईमा सहभागी विद्यालय मध्ये दोश्रो रहेको छ ।
विद्यालयले सामुदायिक विद्यालयतर्फ सबैभन्दा बढी ७८ दशमलव ५७ प्रतिशत नतिजा हासिल गरेको जनाएको छ । यस वर्ष नगरपालिकाभित्र १३ सामुदायिक र ६ संस्थागत गरी १९ विद्यालय एसईई परीक्षामा सहभागी भएका थिए । विद्यालयका प्रधानाध्यापक खेमराज अवस्थीले उत्कृष्ट नतिजाले विद्यालय परिवार उत्साहित बनेको बताउनुभयो । “अव्वल विद्यार्थी समाजका गहना हुन्,” उहाँले भन्नुभयो, “यी विद्यार्थीले विद्यालयको मात्रै नभई समुदायको सम्मान र पहिचानलाई समेत उचाइमा पु¥याएका छन् ।” उहाँका अनुसार विद्यालयले विद्यार्थीको अध्ययन स्तर सुधार गर्न अतिरिक्त कक्षा सञ्चालन गरेको थियो । त्यसले नतिजा सुधारमा महत्वपूर्ण सहयोग पुगेको उहाँको भनाइ छ ।

प्रधानाध्यापक अवस्थीले आगामी शैक्षिक सत्रमा कक्षा ८, ९ र १० का विद्यार्थीलाई थप प्रभावकारी ढंगले अध्ययन गराउने तथा विद्यालयलाई प्रविधिमैत्री बनाउने योजना अघि बढाइएको जानकारी दिनुभयो । “विद्यार्थी, शिक्षक र अभिभावकबीच अन्तरक्रिया कार्यक्रम सञ्चालन गरी सुझाव, गुनासा र सल्लाह संकलन गरेका छौँ,” उहाँले भन्नुभयो, “संकलित सुझावलाई विद्यालयको शैक्षिक रणनीतिमा समावेश गरी कार्यान्वयनमा ल्याइनेछ ।” विद्यालयबाट एसईई उत्तीर्ण गरेका चार जना छात्रा एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति कोटामा छनोट हुन सफल भएको जानकारी उहाँले दिनुभयो । हाल विद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशाह राना ले सामुदायिक विद्यालयले पनि गुणस्तरीय शिक्षा दिन सक्छ भन्ने उदाहरण बैजनाथ माविले प्रस्तुत गरेको बताउनुभयो । उहाँका अनुसार शिक्षक, विद्यार्थी र अभिभावकको साझा प्रयासले विद्यालयको शैक्षिक गुणस्तर उकास्न सफलता मिलेको हो ।
वडा नं. ६ का अध्यक्ष दान सिंह ऐरले विद्यालयले हासिल गरेको उपलब्धि सम्पूर्ण समुदायका लागि गौरवको विषय भएको बताउनुभयो । उहाँले शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय तहले आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यालयले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा अभिभावकलाई आज सम्मान तथा अभिनन्दन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, विद्यालयको शैक्षिक उन्नयनमा योगदान पु¥याउने शिक्षक, अभिभावक तथा सरोकारवालालाई फूलमाला, अबिर र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।






