महेन्द्रनगर : पश्चिमपाटी पत्रिकाको आयोजनामा एजुकेशन एक्स्पो २०८३ आयोजना हुने भएको छ । आगामी जेठ ९ र १० गते महेन्द्रनगरमा सञ्चालन हुने एक्स्पोमा जिल्लाका विभिन्न शैक्षिक संस्था, कलेज, विश्वविद्यालय, प्राविधिक शिक्षालय तथा शैक्षिक परामर्श संस्थाहरूको सहभागिता रहने आयोजकले जनाएको छ । विद्यार्थी, अभिभावक तथा शिक्षकलाई शिक्षा, करियर र सीप विकाससम्बन्धी जानकारी एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

एक्स्पोमार्फत विद्यार्थीलाई आफ्नो रुचि र क्षमता अनुसार उचित शैक्षिक तथा करियर मार्ग छनोट गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । एक्स्पोमा शैक्षिक स्टल प्रदर्शनी, करियर काउन्सिलिङ, विद्यार्थी–अभिभावक प्यालन छलफल, छात्रवृत्ति तथा अध्ययन अवसरसम्बन्धी जानकारीमूलक कार्यक्रम सञ्चालन गरिनेछन् । साथै विभिन्न विशेषज्ञ, शिक्षाविद् तथा करियर काउन्सिलरहरूको सहभागितामा परामर्श कार्यक्रमसमेत सञ्चालन हुने जनाइएको छ ।

आयोजकका अनुसार एक्स्पोको तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ । कार्यक्रममा विद्यालय, कलेज, अभिभावक, विद्यार्थी तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ । पश्चिमपाटीले सुदूरपश्चिममा शैक्षिक बहस, अवसर र सम्भावनालाई प्रवद्र्धन गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको जनाएको छ । आयोजकले सम्पूर्ण शैक्षिक संस्था, विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई कार्यक्रममा सहभागिताका लागि आग्रह गरेको छ।







