हुलाक सेवालाई आधुनिकिकरण गरिदै, घरमै राहदानी पुगाइने


भुवन भट्ट/ महेन्द्रनगर : चिठ्ठी पत्र आदानप्रदानका काममा मात्रै सिमित बनेको हुलाक कार्यालयको सेवा विस्तारको काम अगाडी बढाइसँगै सेवा ग्राहीलाई सहजता हुने भएको छ । हुलाक सेवालाई आधुनिकिकरण गरिन थालेपछि सेवा ग्राहिलाई थप सहजता पुग्ने देखिएको हो । हुलाक कार्यालय कञ्चनपुरका सूचना अधिकारी भोजराज भट्टले विगतमा चिठ्ठी पत्र आदान प्रदानमा सिमित बनेको हुलाक कार्यालयले आगामी दिनमा भने राहदानी, लाइसेन्स, नागरिकता, विश्वविद्यालयका प्रमाणपत्र सहितका काजगातहरु सेवाग्राहीको घरमै पुगाउने गरि तयारी थालिएको बताए । जसका लागि पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने राहदानी घरमै पुगाउने गरी सेवा प्रारम्भ गरिएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय सँग भएको सहमति पछि ५५ रुपियाँको टिकट काटेर सेवा ग्राहीले अग्रिम रुपमा नै घरमा राहदानी पुगाउने सुविधाको लाभ लिन सक्ने उनले बताए । जिल्ला प्रशासन कार्यालयमा पहिलो चरणमा मंगलबार, बुधबार र बिहिबार गरि २५ जनाबढीले घरमै राहदानी पुगाउनका लागि छुट्टै ५५ रुपियाको हुलाक टिकट काटेर सेवा लिएका छन् । राहदानी तयार भएर आएको साता दिन भित्र सेवा ग्राहीको घरमै पुगाइने हुलाक कार्यालयका सूचना अधिकारी भट्टले बताए । प्रशासनबाट नागरिकता र राष्ट्रिय परिचय पत्र पनि प्रेषण गर्न सकिने जनाइएको छ । त्यसै गरी, यातायात व्यवस्था कार्यालय, कञ्चनपुरबाट पनि तयार भएर आएको लाइसेन्स सेवा ग्राहीको घरमा पुगाउने तयारी अगाडी बढाइएको हुलाक कार्यालयले जनाएको छ ।  साथै, बुधबार सुदूरपश्चिम विश्वविद्यालय सँग भएको छलफलका क्रममा विद्यार्थीहरुका विभिन्न शैक्षिक प्रमाण पत्र समेत हुलाक मार्फत विद्यार्थीको घरमै पुगाउने गरी काम अगाडी बढाउने सहमती भएको सूचना अधिकारी भट्टले बताए ।

२२ हजार हुलाक वस्तु आयात तथा निर्यात जिल्ला हुलाक कार्यालय कञ्चनपुरमा पछिल्लो तीन महिनामा २२ हजार ६८७ हुलाक वस्तु आयात तथा निर्यात गरिएका छन् । सूचना अधिकारी भट्टका अनुसार, गत आर्थिक वर्ष २०८२ र ०८२ को माघ, फागुन र चैत्र महिनामा ८ हजार ८८६ (डाँक बाट ) रजिष्ट्री चिठी, ७ हजार ७१४ रजिष्ट्री चिठी (दर्ता), ३ हजार ५२७ समाचार पत्रपत्रिका, एक हजार ७७६ साधारण चिठी, २७६ द्रुत चिठी, १९९ बुक पोस्ट छापा कागज , १४३ पुलिन्दा, १३१ पुलिन्दा (दर्ता), २ बुक पोस्ट (रजिष्ट्री), २६ वैदेशिक पार्सल र सात साना पाकेट आयात र निर्यात गरिएका छन् । जिल्ला हुलाक कार्यालय कञ्चनपुरमा दु्रत चिठी पत्र, पुलिन्दा दर्ता, वैदेशिक पार्सल, बुक पोस्ट (रजिष्ट्री) र रजिष्ट्री चिठी आयात तथा निर्यात सङ्ख्या बढ्दो क्रममा रहेको छ । यसै गरी, पोष्टकार्ड आयात÷निर्यात भने घट्दो क्रममा रहेको छ । विगत दुई वर्षयता पोस्ट कार्ड आयात निर्यात शून्यमा झरेको कार्यालयका सूचना अधिकारी भट्टले बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img