काठमाडौँमा ‘एम्पुटी रनवे नेपाल २०२६’ भव्य सम्पन्न, रिमा पुरी बनिन् च्याम्पियन

अपाङ्गता भएका व्यक्तिहरूको आत्मविश्वासपूर्ण र्‍याम्प प्रस्तुति, समानता र प्रेरणाको सशक्त सन्देश!


काठमाडौँ : काठमाडौँस्थित क्लब प्लाटिनुममा शनिबार “एम्पुटी रनवे नेपाल २०२६” को दोस्रो संस्करण भव्य रूपमा सम्पन्न भएको छ।

निर्मला फाउन्डेसनको आयोजनामा चैत्र २८ गते सम्पन्न उक्त कार्यक्रममा रिमा पुरी च्याम्पियन घोषित भएकी छन्। कार्यक्रममा अपाङ्गता भएका पुरुष तथा महिलाहरूले कृत्रिम हात–खुट्टाको सहायताले आत्मविश्वासका साथ र्‍याम्पमा प्रस्तुति दिएका थिए।

फाउन्डेसनकी अध्यक्ष निर्मला भण्डारीका अनुसार कार्यक्रममा ८ जना महिला र ४ जना पुरुष सहभागी थिए। साथै, एम्पुटी फुटबल खेलाडीहरूको पनि उत्साहजनक सहभागिता रहेको थियो।

अप्रिल महिनालाई ‘अंग हानि तथा अङ्ग भिन्नता जागरूकता महिना’का रूपमा मनाइने सन्दर्भमा कार्यक्रम आयोजना गरिएको हो। यसले सहभागीहरूमा सकारात्मक ऊर्जा थप्नुका साथै समाजमा अपाङ्गता भएका व्यक्तिहरूप्रति दृष्टिकोण परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। आयोजकका अनुसार कार्यक्रमले आत्मविश्वास, समानता र प्रेरणाको सशक्त सन्देश प्रवाह गरेको छ।

कार्यक्रममा विभिन्न विधामा सहभागीहरूलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो। उत्कृष्ट पाँच (टप फाइभ) मा परेका सहभागीहरूलाई नगद पुरस्कारसमेत वितरण गरिएको थियो।

विजेता रिमा पुरीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् भने रनरअप निर्मला परियार,गंगा पुरी, धनबहादुर महता र प्रकाश सिंह घोषित संगै जनही १०/१० हजार रुपैयाँ पुरस्कार जित्न सफल भएका छन्।


ताजा समाचार

spot_img