सौतेनी आमाको हत्या प्रकरण : ‘जग्गा विवाद’ नै मुख्य कारण रहेको श्रेष्ठको प्रारम्भिक बयान


दोधारा । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका वडा नम्बर ४ सुर्खेती टोलमा सौतेनी आमाको हत्या र बहिनीमाथि खुकुरी प्रहार गरिएको घटनाको मुख्य कारण जग्गा जमिन सम्बन्धी पुरानो विवाद रहेको प्रारम्भिक बयानबाट खुलेको छ । बुधबार साँझ पक्राउ परेका मुख्य आरोपित हरिप्रसाद श्रेष्ठले प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानका आधारमा उक्त तथ्य बाहिर आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मंगलबार साँझ अन्दाजी ५५ वर्षीय श्रेष्ठले आफ्नै ७५ वर्षीया सौतेनी आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका थिए भने ५० वर्षीया बहिनी भगवतीदेवी माझीलाई गम्भीर घाइते बनाएका थिए । घाइते माझीको अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि भारतको भोजिपुरा लगिएको अस्पताल स्रोतले जनाएको छ ।

घटनापछि फरार रहेका श्रेष्ठलाई खोजी गर्ने क्रममा नेपाल प्रहरी र भारतीय सुरक्षाकर्मीबीचको समन्वयमा भारतको बरेली क्षेत्रमा फेला पारिएको थियो । उनलाई नियन्त्रणमा लिएपछि भारतीय सुरक्षाकर्मीले नेपाल-भारत सीमा क्षेत्रमा पुगेर नेपाल प्रहरीलाई हस्तान्तरण गरेका थिए । प्रहरीका अनुसार फरार रहेका श्रेष्ठ लुकिछिपी बस्दै भाग्ने प्रयास गरिरहेको अवस्थामा फेला परेका थिए ।

नियन्त्रणमा लिएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान जारी रहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीको भनाइ छ ।


ताजा समाचार

spot_img