पदभार ग्रहणसँगै अध्यक्ष पन्तले गरे अस्पतालको सेवा सुधारका लागि महत्वपुर्ण निर्णय


महेन्द्रनगर : महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष महेश प्रशाद पन्तले पदभार ग्रहण गरेका छन्। सुदूरपश्चिम प्रदेश सरकारको निर्णयअनुसार अध्यक्षमा नियुक्त भएका पन्तले अस्पतालको सेवा सुधार, शैया विस्तार र जनशक्ति व्यवस्थापनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।पदभार ग्रहणलगत्तै अध्यक्ष पन्तले अस्पताल परिसरका विभिन्न स्थानमा सुझाव पेटिका राख्ने, सरसफाइलाई थप व्यवस्थित बनाउने तथा अस्पतालमा रहेको एटीएम सेवा चौबिसै घण्टा सञ्चालन गर्ने निर्णय गरेका छन्। सुझाव पेटिकामार्फत सेवाग्राहीका गुनासा र सुझाव संकलन गरिने जनाइएको छ।अस्पताल प्रादेशिक स्तरमा स्तरोन्नति भए पनि शैया संख्या र जनशक्ति पर्याप्त नबढेको उल्लेख गर्दै उनले त्यसको वृद्धि आफ्नो पहिलो प्राथमिकता हुने बताए।

“अञ्चल अस्पतालबाट प्रादेशिक अस्पतालमा रूपान्तरण भए पनि शैया विस्तार हुन सकेको छैन, अब यसतर्फ विशेष ध्यान दिन्छौँ,” उनले भने।अध्यक्ष पन्तले विगतमा जनज्योति गोलिकाण्डमा घाइते हुँदा यही अस्पतालमा प्राथमिक उपचार पाएको स्मरण गर्दै अस्पतालप्रति आफू नजिकबाट जानकार रहेको बताए। उनले अस्पताल विकासका लागि सबै सरोकारवाला निकायसँग समन्वय र छलफल गरिने जानकारी दिए।उनका अनुसार रोग लाग्न नदिन र स्वास्थ्यबारे जनचेतना अभिवृद्धि गर्न नियमित स्वास्थ्य परीक्षणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। साथै, आर्थिक अभावका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित नहुने व्यवस्था मिलाइने उनले बताए।

आन्तरिक तथा बाह्य स्रोत परिचालन गरेर विपन्न नागरिकको उपचार सुनिश्चित गर्ने प्रतिबद्धता समेत उनले जनाए।अस्पतालका चिकित्सक तथा कर्मचारीलाई कुनै दबाबबिना सेवाभावका साथ काम गर्न निर्देशन दिँदै उनले अस्पताललाई राजनीतिक प्रभावबाट मुक्त राख्ने बताए। साथै, सघिय सरकारसँग सहकार्य गर्दै अस्पताल विकासमा अघि बढ्ने उनको भनाइ छ।कार्यक्रममा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. जगदीश जोशीले नवनियुक्त समितिलाई स्वागत गर्दै अस्पतालको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए। उनले अस्पताल विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे।प्रदेश सरकारले व्यवस्थापन समितिको सदस्यमा प्रशान्त भट्ट, इन्द्र साउद, कमली चन्द, कृष्ण कुवँर र पार्वती कुमारी भट्टलाई नियुक्त गरेको छ ।

अघिल्लो समितिको कार्यकाल सकिएपछि लामो समयदेखि अस्पताल व्यवस्थापन समिति रिक्त थियो। साथै पदभार ग्रहण कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका पुर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले जनताको सेवकको रुपमा काम गर्न समितिका पदाधिकारीलाई आग्रह गरे । उनले प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउँदै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।२०२० सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको उक्त अस्पताल २०३१ सालमा २५ शैयाको स्वीकृति पाएसँगै जिल्ला अस्पतालमा स्तरोन्नति भएको थियो। त्यसपछि २०४३ सालमा अञ्चल अस्पताल र २०७८ सालमा प्रादेशिक अस्पतालमा स्तरोन्नती गरिएको हो। हाल एक सय शैया स्वीकृत रहेको महाकाली अस्पतालमा जनसंख्या वृद्धिसँगै बिरामीको चाप बढ्दै गएको छ।


ताजा समाचार

spot_img