कञ्चनपुर — भीमदत्त नगरपालिका–४ मा अवस्थित सिद्धनाथ मन्दिर विकास समितिले नवरात्रिको अवसरमा सञ्चालन गरिएको विशाल भण्डारा (सिद्धबाबा अन्नक्षेत्र) लाई रु. ३३ हजार ३ सय ३३ आर्थिक सहयोग प्रदान गरेको छ।

नवरात्रिको समयमा पूर्णागिरी माताको दर्शन गरी लाखौँ श्रद्धालु भक्तजन सिद्धनाथ बाबाको दर्शनका लागि मन्दिर आउने गर्छन्। दर्शनका लागि आउने भक्तजनहरूलाई लक्षित गर्दै विशाल भण्डारा (सिद्धबाबा अन्नक्षेत्र) ले नौ दिनसम्म निःशुल्क खाना तथा भोजनको व्यवस्था गरेको छ।

पूर्णागिरी माताको दर्शनपछि सिद्धनाथ बाबाको दर्शन गर्ने श्रद्धालुहरू उक्त भण्डारामा पुगेर निःशुल्क भोजन ग्रहण गर्ने गर्दछन्। सेवा भावले सञ्चालन गरिएको यस भण्डाराले भक्तजनहरूलाई निरन्तर निःशुल्क भोजन उपलब्ध गराउँदै आएको छ।

उक्त आर्थिक सहयोग सिद्धनाथ मन्दिर विकास समितिका अध्यक्ष कैलाश भट्ट, उपाध्यक्ष लोकराज भण्डारी, महासचिव चन्द्रकान्ता भट्ट (सीके) र कोषाध्यक्ष हेमराज भट्टले विशाल भण्डाराका संयोजक दयाकृष्ण जोशी, भोजराज भट्टलगायतलाई हस्तान्तरण गरेका थिए।
रकम हस्तान्तरण कार्यक्रममा समितिका अध्यक्ष भट्टले हाल सानो सहयोगबाट सुरुआत गरिएको उल्लेख गर्दै आगामी दिनमा समेत सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनले यस्तो परोपकारी कार्यमा जति सहयोग गरे पनि कम हुने भन्दै नौ दिनसम्म निःशुल्क भोजनको आयोजना गर्नु ठूलो सामाजिक कार्य भएको बताए। साथै उनले नगरवासी सबैलाई आफ्नो सामर्थ्य अनुसार सहयोग गर्न आह्वान गरे।






