कञ्चनपुर: कञ्चनपुर–३ का प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र सिह महताद्वारा निर्वाचन खर्च विवरण सार्वजनिक कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित ज्ञानेन्द्र सिंह महताले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्। उनले प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी प्रचलित कानुनी व्यवस्था अनुसार निर्वाचनमा भएको खर्चको विवरण सार्वजनिक गरेका हुन्। महताले निर्वाचन आयोगले तोकेको खर्चको मापदण्डभित्र रही निर्वाचनका क्रममा भएको खर्च विवरण सार्वजनिक गरिएको बताएका छन्।

उक्त विवरण भीमदत्त नगरपालिका वडा नम्बर १८ को कार्यालयमा स्थानीय व्यक्तिहरूको रहोबरमा सार्वजनिक गरिएको जनाइएको छ। सार्वजनिक गरिएको विवरण अनुसार सवारी साधन भाडा (इन्धन सहित)मा ३ लाख ३४ हजार ३३३ रुपैयाँ, मतदाता नामावली प्रिन्ट तथा प्रशिक्षण कार्यक्रममा २९ हजार ९८० रुपैयाँ, निर्वाचन सचिवालय तथा सम्पर्क कार्यालय सञ्चालनमा १ लाख ७० हजार रुपैयाँ खर्च गरिएको उल्लेख छ।

त्यसैगरी स्टेशनरी तथा अन्य खर्चमा २७ हजार ३०० रुपैयाँ, प्रचार सामग्री छपाइमा १ लाख २४ हजार ५२५ रुपैयाँ, नमुना मतपत्र र ब्यानर छपाइमा ५० हजार रुपैयाँ, कोणसभालगायत कार्यक्रममा २१ हजार रुपैयाँ तथा घरदैलो अभियानका क्रममा खाजा–नास्तामा ४२ हजार ३३२ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ। यसरी महताले प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा कुल ७ लाख ९९ हजार ४७० रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका हुन्। निर्वाचन खर्च पारदर्शी बनाउने उद्देश्यले कानुनअनुसार खर्च विवरण सार्वजनिक गरिएको महताले बताएका छन्।







