महेन्द्रनगर : यही फागुन २१ गते सम्पन्न प्रतिनधि सभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको सार्वजनिक अन्तिम मत परिणाम अनुसार, यस जिल्लामा १२ हजार बढी मत बदर भएको छ । तीन निर्वाचन क्षेत्र रहेका कञ्चनपुरमा १२ हजार ६२७ मत बदर भएका हुन् । जसमध्ये निर्वाचन क्षेत्र–३ मा बदर मत सङ्ख्या बढी छ । कञ्चनपुर निर्वाचन क्षेत्र–१ मा कुल खसेको ६० हजार ७८५ मतमध्ये तीन हजार ७३४ मत बदर भएको छ, भने ५७ हजार ०५१ मत सदर भएको हो ।

निर्वाचन क्षेत्र–२ मा ६५ हजार ३४७ मत खसेकोमा ६१ हजार ११७ मत सदर भएको छ, भने चार हजार २३० मत बदर भएको मुख्य निर्वाचन अधिकृत प्रकाश भण्डारीले बताए । उनका अनुसार, विषेश गरी दोहोरो चिन्हमा छाप लगाइएका मत अत्यधिक बदर भएका छन् । निर्वाचन क्षेत्र–३ मा ५८ हजार २०९ मत खसेको थियो । जसमध्ये ५३ हजार ५४६ मत सदर भएको छ भने चार हजार ६६३ मत बदर भएको छ ।

यस निर्वाचन क्षेत्रमा बदर मत बढेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र सिंह भण्डारीले बताए । यसैगरी, समानुपातिक तर्फ जिल्लामा १० हजार ६३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । समानुपातिकतर्फ जिल्लामा एक लाख ७५ हजार ९०१ सदर मत खसेको थियो ।







