महेन्द्रनगर: कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार दीपकराज बोहरा निर्वाचित भएका छन्। बोहराले नेपाली कांग्रेसका एनपी साउदलाई २३ हजार १२५ मतान्तरले हराएका हुन्।

सातौँ पटक चुनाव लडेर तीन पटक निर्वाचित भई मन्त्रीसमेत भएका साउदलाई बोहोराले पहिलो प्रयासमै पराजित गरेका हुन्। बोहराले ३३ हजार ९५२ मत ल्याउँदा साउदले १० हजार ८२८ मत ल्याएका छन्।

एमालेका बचनबहादुर सिंहले ६ हजार ४१८, नेकपामा माधवप्रसाद पन्तले ६ हजार ३३७, राप्रपाका तिर्थराज चटौतले एक हजार ९९३, जनमतका रामचन्द्र भट्टले १२५ र उज्यालोका योगेश साउदले ९३ मत ल्याएका छन्।

उज्यालो नेपालका उम्मेदवार योगेश साउदले रास्वपाका बोहरालाई अन्तिममा आएर समर्थन जनाएका थिए। एक लाख ९ हजार ५७४ मतदाता रहेको यस क्षेत्रमा ६५ हजार ३४७ मत खसेको थियो। ४ हजार २३० मत बदर भएको छ।
निर्वाचन अधिकृत प्रकाश भण्डारीले निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण गरिएको जानकारी दिए।






