कञ्चनपुर: कञ्चनपुर, फागुन २१ गते । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा यहाँका तीन ओटै निर्वाचन क्षेत्रमा ५८.६१ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार, तीन ओटै निर्वाचन क्षेत्रबाट एक लाख ८४ हजार ३१६ मत खसेको छ । जिल्लामा एक लाख २ हजार ५१९ महिला र ८१ हजार ७९७ पुरुषले मतदान गर्नुभएको छ । तीन लाख १४ हजार ३८५ मतदाता रहेका जिल्लामा ५८.६१ प्रतिशत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिषचन्द्र जोशीले बताउनुभयो ।

जोशीका अनुसार, एक लाख १ हजार ७२४ मतदाता रहेका कञ्चनपुर क्षेत्र १ मा ६१ हजार ०७४ मत खसेको छ । यहाँ ३३ हजार ४०३ महिला र २७ हजार ६७१ पुरुष मतदाताले मतादन गर्नुभएको छ । निर्वाचन क्षेत्र २ अन्तरगत १ लाख ९ हजार ५७४ मतदाता रहेका छन् । जहा ५९.२१ प्रतिशत अर्थात ६४ हजार ८८१ मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जोशीले बताउनुभयो । क्षेत्र २ को बेदकोट नगरपालिका वडा नम्बर ८ मा २ हजार ६७१ मतदाता रहेकोमा १ हजार ५९५ मत खसेको छ ।

यसै गरी, १ लाख ३ हजार ८७ मतदाता रहेका निर्वाचन क्षेत्र ३ मा ५६.६१ प्रतिशत अर्थात ५८ हजार ३६१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहीबार विहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको निर्वाचन कार्यालयका प्रमुख जोशीले बताउनुभयो । त्यसै गरी, जिल्लामा सबै मतदान स्थलबाट मतपेटीका बुझ्ने काम सकिएपछि मतगणना अगाडी बढाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ्

क्षेत्र नम्बर १ मा बेलौरी नगरपालिका वडा नम्बर ४ को सभाहलमा मतगणनाका लागि सम्पूर्ण तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसै गरी, निर्वाचन क्षेत्र २ को शुक्लाफाँटा नगरपालिकाको सभाकक्ष र क्षेत्र ३ को जिल्ला समन्वय समितिको हलमा मतगणनाका लागि सम्पूर्ण तयारी गरिएको जिल्ला निर्वाचन सूरक्षा समितिले जनाएको छ ।






