कञ्चनपुर: बेलडाँडी गाउँपालिकामा सञ्चालन भएको १६औँ राष्ट्रपति रनिङ्गशिल्ड छनोट प्रतियोगिता एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

बेलडाँडी गाउँ खेलकुद विकास समितिको आयोजनामा बुधबारदेखि सुरु भएको प्रतियोगिता बेल्डाँडी गाउँपालिका वडा नं.०१ झरनासागर स्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा शुक्रवार सफलतापूर्वक सम्पन्न भएको हो ।

प्रतियोगितामा गाउँपालिकाभित्रका संस्थागत विद्यालय ३ र सामुदायिक ६ गरि ९ विद्यालयको सहभागीता रहेको थियो। खेलकुद प्रतिस्पर्धामा विभिन्न विधामा विद्यार्थीहरूले उत्साहजनक सहभागिता रहेको गाउँ खेलकुद विकास समितिका अध्यक्ष डम्बर बहादुर सुनार बताउनु भयो।

उनका अनुसार, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै १९ स्वर्ण, १२ रजत र ७ कास्य सहित ३८ पदकका साथ रौलेश्वर माध्यमिक विद्यालय बेल्डाँडी -०२ ले प्रथम स्थान हासिल गरेको छ। रौलेश्वरको लगातार चौथोपटक राष्ट्रपति रनिङ्गशिल्डको उपाधि जित्न पहिलो विद्यालय बनेको छ।
१४ स्वर्ण, ७ रजत, र ११ कास्य सहित ३२ पदकका साथ सरस्वती जनता मा.वि बेल्डाँडी-०४ बैवाह द्वितीय स्थान हासिल गरेको छ, भने ८ स्वर्ण, ८ रजत, र ५ कास्य सहित २१ पदकका साथ सरस्वती मा.वि झरनासागर बेल्डाँडी -०१ ले तृतीय भएको छ।
समापन समारोहलाई सम्बोधन गर्दै बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र राना ले नियमित पठन–पाठनसँगै खेलकुद विद्यार्थीको सर्वाङ्गीण विकासको आधार भएको उल्लेख गर्नुभयो । उहाँले खेलकुदले अनुशासन, नेतृत्व र आत्मविश्वास विकास गर्ने भएकाले विद्यार्थीहरूलाई यस क्षेत्रमा सक्रिय हुन आग्रह गर्नुभयो । साथै, प्रतियोगिता स्वतन्त्र, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न भएकोमा आयोजकलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा सरस्वती मावि झरनासागरका प्रधानाध्यापक जनक थापाले पालिकाभरिका खेलाडी विद्यार्थीलाई स्वागत गर्दै प्रतियोगिता भव्य, सभ्य र निष्पक्ष रूपमा सम्पन्न भएको बताए । विजेता खेलाडी तथा विद्यालयलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
सरस्वती मावि झरनासागरका सहायक प्रधानाध्यापक राधाकृष्ण पाठकले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा खेलाडी विद्यार्थी, शिक्षक, अभिभावक, खेलकुदकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
लगातार चौथोपटक उपाधि जित्न सफल रौलेश्वर मावि का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीत बहादुर धामीले खेलाडी विद्यार्थीलाई हार्दिक बधाई दिँदै पठन-पाठनसँगै अतिरिक्त क्रियाकलापले विद्यार्थीको भविष्य उज्ज्वल बनाउने बताउनुभयो ।






