कञ्चनपुर : सोमबार राजधानी काठमाण्डौँमा समाजिक सञ्जाल बन्द र भ्रष्टाचार बिरुद्धमा जेनजी आन्दोलनमा प्रहरीले नाबालकमाथि गोली बर्षाएर निर्हत्था नागरिकको हत्या गरेको भन्दै नेकपा माअोवादीले सरकारको राजिनामा माग अघि सारेको छ । माओवादी केन्द्र कञ्चनपुरले महेन्द्रनगरमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका हुन । जेनजी आन्दोलनमा सरकारले नाबालक विद्यार्थीको टाउकोमा गोली प्रहार गरेर हत्या गरेको भन्दै प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको पुत्ला दहन गरेको माओवादी नेताहरुले बताएका छन ।

नेकपा माओवादी नेतृ माया नेगीले सरकारले जनतालाई सेवा सुविधा दिनुको साटो आन्दोलनमा छानिछानी टाउकोमै गोली प्रहार गरेको हुँदा बिरोध स्वरुप गृहमन्त्री र प्रधानमन्त्रीको पुत्ला दहन गरेको बताए । ‘यो सरकारले आफ्ने नैतिक हैसियत गुमाईसकेको छ, यसबाट नागरिकले केही पाउनु भन्दा पनि झन दुख मात्रै पाउँछन, ‘उनले भने, ‘जति यो सरकार रहन्छ, त्यती नागरिकले ज्यान गुमाउनुपर्छ,त्यसैले यो सरकारको बिदाई गर्नुको विकल्प छैन ।’ उनले अब यो मन्त्री, उ प्रधानमन्त्रीको राजिनामा भन्दा सिङगै सरकार ढाल्नुपर्ने बताईन ।

अखिल क्रान्तिकारी कञ्चनपुरका विद्यार्थी नेता दल बहादुर धामी(अबिरल)ले शान्तिपूर्ण बिरोध प्रर्दशनमा सरकारले आन्दोलनमा उत्रिएका जेनजी समुहका युवा विद्यार्थीलाई उत्तेजित बनाएर आन्दोलन भडकाएको बताए । ‘यो आन्दोलनमा छानिछानी सडकमा किताब बोकेर विद्यालय गईरहेका र विद्यालयबाट घर फर्किन लागेका विद्यार्थीको टाउमा छानिछानी गोली प्रहार गरिएको छ ।’ माओवादी कञ्चनपुरले समाजिक सञ्जाल बन्दको निर्णय फिर्तादेखि भ्रष्टाचार मात्रै पनि रोक्न सुझाव दिएको छ ।

