साझा यातायातका ६० जना बढी कर्मचारीलाई आधारभूत ट्रमा लाइफ सपोर्ट तालिम सम्पन्न

काठमाडौं – ललितपुरको कुपन्डोल स्थित नेपालकै पहिलो लाइफ स्टाइल अस्पताल, आरुम लाइफ स्टाइल अस्पतालले आफ्नो अर्थोपेडिक विभाग मार्फत न्याय हेल्थ नेपालसँगको सहकार्यमा साझा यातायातका कर्मचारीलाई लक्षित गरी आधारभूत ट्रमा लाइफ सपोर्ट तालिम सम्पन्न गरेको छ। तालिमका सहभागीहरुलाई सडक दुर्घटनाको अवस्थामा प्राथमिक उपचार, जीवन रक्षक सीप, दुर्घटना रोकथामका उपाय र व्यावहारिक अभ्यास सम्बन्धी प्रशिक्षण दिइएको छ। प्रशिक्षकहरूले दुर्घटनापछि जीवन बचाउन अत्यन्तै महत्वपूर्ण मानिने ‘गोल्डेन पिरियड’ अर्थात् पहिलो घण्टाभित्र गरिएको प्राथमिक उपचारको महत्वबारे विस्तृत जानकारी प्रदान गरेका थिए ।

प्रशिक्षकहरूले आकस्मिक अवस्थामा कसरी तुरुन्त प्रतिकृया जनाउने, सडक दुर्घटनाबाट हुने मृत्यु न्यूनिकरण गर्ने र समयमै उपचारको सुविधा दिलाउने सीपमा सहभागीलाई अभ्यास गराइएको थियो। तालिमको मुख्य प्रशिक्षकका रूपमा अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जन डा. भास्कर राज पन्त, डा. सन्दीप भण्डारी र डा. गौरव वीर बज्राचार्य रहेका थिए। साझा यातायातका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार कनकमणि दिक्षितले सवारी चालक तथा सहचालकले आकस्मिक अवस्थामा अपनाउनुपर्ने जीवन रक्षक सीपबारे तालिम सञ्चालन गरेकोमा अस्पताललाई धन्यवाद दिए। उनले दुर्घटनापछि यात्रु वा सर्वसाधारणको ज्यान जोगाउन चालक–सहचालक सक्षम हुनुपर्ने र यस प्रकारका तालिमले ठूलो सहयोग पुर्या्उने बताए।

प्रशिक्षक डा. भास्कर राज पन्तले आवश्यकता अनुसार आगामी दिनमा थप २–३ चरणमा निरन्तर तालिम सञ्चालन गरिने जानकारी दिए । तालिमले यातायातका कर्मचारीलाई आकस्मिक स्वास्थ्य संकटमा सजग र सक्षम बनाउने अपेक्षा गरिएको उनलेबताए । दुर्घटनापछि एक घण्टा भित्रै घाइतेलाई उपचारमा पुर्याेउन सके धेरै जीवन जोगाउन सकिने डा. पन्तले बताए। उनले प्रत्येक सवारी साधनमा फस्र्ट एड बक्स अनिवार्य राख्नु पर्ने सुझाव समेत दिए। डा. पन्तले भने, “हामी तीनै जना न्याय हेल्थ नेपाल  का सदस्य पनि हौं, सुदूरपश्चिममा ग्रामीण समुदायमा काम गर्दै आएको संस्थामा आबद्ध भएकाले शहरी क्षेत्रमा पनि यस्ता स्वास्थ्य जागरूकता कार्यक्रम आवश्यक देखेका छौं। साझा कर्मचारीका लागि यो पहिलो पहल हो र यसलाई आगामी दिनमा अझ व्यावहारिक तालिम सहित निरन्तरता दिने योजना छ। काठमाडौं उपत्यकाका अन्य संस्थामा पनि यस्ता कार्यक्रम विस्तार गर्ने तयारी छ।

त्यस्तै अर्काडा. सन्दीप भण्डारीले हाडजोर्नीमा समस्या देखिएको अवस्थामा प्राथमिक उपचार गर्ने तरिकाबारे व्यावहारिक जानकारी दिए भने डा. गौरव वीर बज्राचार्यले आधारभूत ट्रमा लाइफ सपोर्ट सम्बन्धी प्रस्तुतीकरण दिएका थिए। यसैगरी, आस्म अस्पतालका सीईओ डा. सन्तोष शाक्यले यस्ता सीपमूलक तालिमले दुर्घटनाबाट हुने क्षति न्यूनिकरण गर्न मद्दत गर्ने बताए। उनका अनुसार यसपटक साझा यातायातका कर्मचारीलाई लक्षित गरी तालिम सुरु गरिएको भए पनि आगामी दिनमा अन्य सार्वजनिक सवारीका कर्मचारीलाई समेत विस्तार गर्ने योजना रहेको छ।
तालिममा ६० भन्दा बढी चालक तथा सहचालकहरूको सहभागिता थियो। सहभागीहरूले दुर्घटनाको संवेदनशील क्षणमा अपनाउनुपर्ने व्यवहारिक सीपबारे तालिम अत्यन्तै फलदायी भएको प्रतिक्रिया दिएका छन्। यस तालिम मार्फत आस्म लाइफ स्टाइल अस्पतालले सामुदायिक स्वास्थ्य, सडक सुरक्षा सचेतना र जीवनरक्षक तयारीलाई थप मजबुत बनाउने विश्वास लिएको छ।

ताजा समाचार