लेखक: जगदीश ओझा, महेन्द्रनगर : भारतका दर्जनौँ दंगल अखाडामा आफ्नो बलबुतामा प्रतिस्पर्धा जितिरहेका नेपाली पहलवानहरू केवल खेलाडी मात्र होइनन्, राष्ट्रिय स्वाभिमानका सम्बाहकसमेत हुन्। हालै पहलवान रबिन्द्र ढाँटको उपलब्धिलाई जनस्तरले उच्च मूल्याङ्कन गरेको छ। मिक्स मार्सल आर्ट फाँटमा राज्यको लगानि बिनानै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा च्याम्पियन बन्नु चानचुने कुरा होइन। एउटा नागरिकले राष्ट्रको प्रतिनिधित्व गर्दै सफलता प्राप्त गर्नु त्यसमा पनि श्रोत साधनको अभाबमा रहेका रबिन्द्र ढाँटको मनोबल सराहनीय छ। सामाजिक सञ्जालदेखि मिडियासम्म उनीको प्रशंसा र सराहना भयेको छ । राष्ट्रपतिले समेत देवेन्द्रको प्रसंसा गर्दै गरेको छोटो कार्यक्रम एउटा सकारात्मक कदमको रूपमा लिन सकिन्छ । तर अधिकार सम्पन्न कार्यकारी सरकारका तर्फबाट उपलब्धिको उचित सम्मान समयमै नहुनुले जन आक्रोस बढेको देखिन्छ।

यसैबीच, दुई अन्य चर्चित नामहरू—देवा थापा र बसन्त थापा—को अवस्था भने प्रश्नको घेरामा छ। यी दुवै पहलवान वर्षौँदेखि भारतका विभिन्न अखाडामा प्रतियोगिता जित्दै आएका छन्। दर्शक र आयोजकहरू उनीहरूलाई “नेपाली पहलवान” भनेर सम्बोधन गर्छन्। तर नेपालभित्र, सरकारी तहमा उनीहरूको नाम न त राष्ट्रिय खेलाडी सूचीमा पर्छ, न त कुनै आधिकारिक सम्मान वा प्रोत्साहन प्राप्त भएको देखिन्छ।

उपलब्धि, तर मौनता मिडिया रिपोर्ट र प्रत्यक्षदर्शीहरूको भनाइअनुसार, देवा र बसन्तले भारतीय पहलवानहरूलाई पराजित गर्दै दंगल क्षेत्रमा आफ्नो पहिचान बनाएका छन्। उनीहरूको पहिलो परिचय “म नेपाली हुँ” नै हुन्छ। यद्यपि, राष्ट्रिय खेलकुद परिषद् वा खेल मन्त्रालयको अभिलेखमा उनीहरूको नाम उल्लेखित छैन। विश्लेषकहरूको भनाइमा, “चिनेको भए पनि चिया बिस्कुट मै भुलाउने” प्रवृत्ति यस मामलामा पनि दोहोरिएको देखिन्छ। रबिन्द्र ढाँटको मामलामा राष्ट्रपति कार्यालयको सम्मान मौखिक रूपमै भएको कुरा पनि सन्तोषजनक देखिदैन।

भने देश बिदेशमा उच्च उपलब्धि बोकेका खेलाडीहरू तथा अन्य बिभिन्न क्षेत्रका बेवास्तामा पर्नु राज्यको दोहोरो मापदण्ड जस्तो देखिन्छ। राज्यले प्रतिभाको सम्मान र प्रोत्साहन एवम् उचित वातावरण सिर्जना गर्न नसक्दा प्रतिभा पलायन बढदै गएको छ।
जनप्रतिक्रिया सामाजिक सञ्जालमा धेरैले यो असमानतालाई प्रश्न उठाएका छन्। “सबैको योगदान बराबर हो भने सम्मान पनि बराबर हुनुपर्छ” भन्ने धारणा बलियो बन्दै गएको छ। खेल प्रेमीहरूका अनुसार, विदेशमा बसेर नेपालको झण्डा उचाल्ने खेलाडीहरूको योगदानलाई राज्यले प्राथमिकता दिन नसक्नु विडम्बना हो।
नीति–स्तरीय सवाल
• के राष्ट्रिय खेलकुद परिषद्को नीतिमा विदेशमा प्रतिस्पर्धा गर्ने नेपाली खेलाडीको अभिलेख अद्यावधिक गर्ने व्यवस्था छ?
• के खेल मन्त्रालयले विदेशमा सम्मान कमाउने खेलाडीहरूलाई राष्ट्रिय खेलाडीको मान्यता दिने नीति बनाउन सक्छ?
• रबिन्द्र ढाँट, देवा र बसन्त थापा जस्ता सबैलाई राज्यले खोज्नु पर्दछ र राज्यले स्तर अनुरूपको सम्मान र वातावरण दिनु पर्ने हो कि होइन?
निष्कर्ष
रबिन्द्र ढाँट, देवा थापा र बसन्त थापा जस्ता प्रतिभाहरूले आफ्नो श्रम, साहस र लगावका कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाइरहेका छन्। तर राज्यको सम्मान र मान्यता दिने दृष्टिकोणमा देखिएको प्रवृति माथि असन्तुष्टि बढदै गएको। यदि राष्ट्रिय स्वाभिमानलाई शब्द मात्र नभई व्यवहारमा उतार्न चाहिन्छ भने, विदेशमा मिहिनेत गरेर नेपालको नाम चम्काउने सबै खेलाडी तथा अन्य क्षेत्र प्रतिभाहरूलाई समान अवसर, सम्मान तथा प्रोत्साहन दिनुपर्ने देखिन्छ।






