झलारीमा सडक छेउछाउको झाडी सरसफाई

झलारी : शुक्लाफाँटा नगरपालिका–१० झलारीको लालपनिया सडक क्षेत्रमा रहेको झाडी हटाउने सरसफाई अभियानको थालनि गरिएको छ । । सडक किनारामा उम्रिएका झाडीका कारण सवारी साधन आवागमनमा अवरोध हुन थालेपछि स्थानीय जनप्रतिनिधिको सक्रियतामा सरसफाई अभियान सञ्चालन गरिएको हो । वडा नम्बर १० का अध्यक्ष लालबहादुर ऐरको नेतृत्वमा गरिएको सरसफाईमा नगर प्रहरी, वडा सदस्य, स्थानीय बासिन्दा तथा सरोकारवाला निकायको उल्लेख्य सहभागिता रहेको थियो । सरसफाई अभियानमा सडक छेउछाउमा अव्यवस्थित रूपमा फैलिएको झाडी फाल्ने, फोहोर व्यवस्थापन गर्ने तथा दुर्घटना सम्भावना न्यूनिकरण गर्ने कार्य गरिएको वडा कार्यालयले जनाएको छ ।

वडा अध्यक्ष ऐरका अनुसार,झाडीका कारण सडक साँघुरो हुने, सवारी आवागमनमा अवरोध पुग्ने, साँझपख चोरी डकैती लगायतको डर बढ्ने अवस्था थियो । स्थानीयको सक्रियता र सहकार्यमा समस्या समाधानतर्फ पहल सुरु गरिएको बताउँदै उनले आगामी दिनमा वडाका अन्य क्षेत्रमा पनि यस्ता अभियान सञ्चालन गरिने बताए । यसका साथै सरसफाई अभियानकै सिलसिलामा सडक क्षेत्र नजिकै चौपाया बाँध्दै आएका स्थानीयलाई चेतावनी दिइएको छ । चौपाया बाट सवारी आवागमनमा समस्या हुनुका साथै दुर्घटना हुने सम्भावनालाई दृष्टिगत गर्दै स्थानिय बासिन्दालाई सचेत पारिएको वडा कार्यालयले जनाएको छ ।

स्थानीयलाई चौपाया बाँध्नका लागि वैकल्पिक स्थानको व्यवस्था गर्न पनि आग्रह गरिएको छ । नगर प्रहरीका अनुसार यस्ता सरसफाई र सचेतना कार्यक्रमले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने भएकाले निरन्तरता दिनुपर्ने आवश्यकता रहेको छ । अभियानमा सहभागी स्थानीयवासीले पनि यस्ता गतिविधिमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । वडाले आगामी दिनमा फोहोर व्यवस्थापन, अव्यवस्थित चौपाया पालन तथा सडक सुरक्षा सुदृढीकरणका विषयमा थप कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको जनाएको छ ।

ताजा समाचार