शुक्लाफाँटा नगरपालिका –८ को बालबालिकालाई निःशुल्क र अनिवार्य आधारभूत शिक्षा प्रदान गर्ने अभियान

सरकारी सेवा लिन कक्षा ८ उत्तीर्ण प्रमाणपत्र अनिवार्य


कञ्चनपुर,: कञ्चनपुरको एक वडा कार्यालयले बालबालिकाहरुलाई निःशुल्क र अनिवार्य अधारभूत शिक्षा प्रदान गर्नका लागि कडा कदम चालेको छ । शुक्लाफाँटा नगरपालिका ८नम्बर वडा कार्यालयले विद्यालयबाहिर रहेका बालबालिकालाई पुनः विद्यालयमा ल्याउने अभियान शुरु गरेको हो । वडा कार्यालयले सरकारी सेवा लिन कक्षा ८ उत्तीर्ण प्रमाणपत्र अनिवार्य मापदण्ड बनाएको छ ।

वडा कार्यालयले विद्यालयबाहिर रहेका तथा आर्थिक, सामाजिक र पारिवारिक कारणले आधारभूत शिक्षाबाट वञ्चित बालबालिकालाई पुनः विद्यालयको मूल प्रवाहमा ल्याउन कडा कदम अघि सारेको छ। नेपालको संविधान तथा अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, ०७५ र नियमावली, ०७७ ले प्रत्येक बालबालिकालाई आधारभूत तहसम्मको शिक्षा पहुँचबाट वञ्चित गर्न नहुने व्यवस्था गरेको स्मरण गराउँदै वडा कार्यालयले विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना गराई नियमित अध्ययनमा फर्काउन आब्हान गरेको छ ।

वडाध्यक्ष बहादुर सिह महराले विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयमा ल्याउने उदेश्यका साथ वडा कार्यालयबाट सेवा लिनका लागि अनिवार्य ८ उर्तीण व्यवस्था कडाई गर्ने बताए । उनका अनुसार चालु आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ८ भित्र स्थायी वा अस्थायी रूपमा बसोबास गरिरहेका तर विद्यालयबाहिर रहेका, अध्ययन नगरेका वा बीचमै विद्यालय छाडेका बालबालिकालाई विद्यालयको मूल प्रवाहमा ल्याउने कार्यक्रम सञ्चालन गरिएको बताए ।

विशेषगरी अभिभावक नभएका अनाथ बालबालिका, अत्यन्त न्यून आय भएका तथा विपन्न परिवारका बालबालिका, मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारका बालबालिका, सुकुम्बासी तथा भूमिहीन परिवारका बालबालिकालाई लक्षित गरी विद्यालय भर्ना तथा नियमितताका लागि प्रोत्साहनस्वरूप स्टेसनरी, झोला, विद्यालय पोशाक (ड्रेस) तथा सुकुम्बासी÷भूमिहीन परिवारका सदस्यका बालबालिकालाई राहत सहयोगसमेत उपलब्ध गराउने कार्यक्रम वडा कार्यालयले अघि सारेको छ। वडा कार्यालयले त्यस्ता बालबालिकाका अभिभावक, संरक्षक, विद्यालय तथा सरोकारवाला सबैलाई सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजातसहित वडा कार्यालयमा रीतपूर्वक निवेदन पेश गर्न आग्रह गरेको छ।

वडा कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार देहायका बालबालिकालाई कार्यक्रमको लक्षित समूहमा राखिएको छ— वडा नं. ८ भित्र स्थायी वा अस्थायी रूपमा बसोबास गरिरहेका विद्यालयबाहिर रहेका बालबालिका, आमा–बुबा दुवै नभएका अनाथ वा संरक्षकको छत्रछायामा रहेका बालबालिका, आर्थिक रूपमा अत्यन्त विपन्न, न्यून आय भएका वा मजदुरी गरी जीविकोपार्जन गर्ने परिवारका बालबालिका, सुकुम्बासी तथा भूमिहीन परिवारका बालबालिका, निवेदनसँग आवश्यक कागजात वडा कार्यालयले निवेदनका साथ वडा कार्यालयले तोकेको ढाँचाको निवेदन फाराम, बालबालिकाको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र अभिभावक÷संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने जनाएको छ।

आमा–बुबा नभएका बालबालिकाको हकमा मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि वा अनाथ प्रमाणित भएको कागजात पेश गर्नुपर्नेछ। त्यसैगरी भूमिहीन तथा सुकुम्बासी परिवारको हकमा वडा कार्यालयबाट उपलब्ध गराइएको निस्सा प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।वडा कार्यालयले जारी गरेको सूचनामा ०६१ साल वैशाख १ गतेदेखि हालसम्म जन्मिएका, आधारभूत तह उत्तीर्ण नगरी विद्यालय छाडेका तथा अभिभावकलाई पुनः विद्यालय पठाउन पटक–पटक अनुरोध गर्दा पनि विद्यालय नगएका बालबालिकाको विषयमा थप कडा व्यवस्था अघि सारिएको उल्लेख छ।यस्ता बालबालिकाका अभिभावकलाई आफ्ना बालबालिकालाई अनिवार्य रूपमा विद्यालय पठाउन आग्रह गर्दै वडा कार्यालयले नेपाल सरकार तथा वडा कार्यालयबाट उपलब्ध गराइने जुनसुकै सेवासुविधा लिन आउँदा आधारभूत तह (कक्षा ८ उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिएको छ।

वडा कार्यालयले उक्त व्यवस्था अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षासम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन तथा विद्यालयबाहिर रहेका बालबालिकालाई पुनः शिक्षाको मूलधारमा ल्याउने उद्देश्यले रहेको जनाएको छ
वडा कार्यालयले यस अभियानमा वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई समेत आवश्यक सूचना, विवरण तथा सहयोग उपलब्ध गराउन आग्रह गरेको छ। विद्यालयबाहिर रहेका बालबालिकाको पहिचान, अभिलेखीकरण, पुनः भर्ना तथा नियमित अध्ययनमा फर्काउने कार्यमा अभिभावक, विद्यालय, जनप्रतिनिधि, शिक्षक तथा सम्पूर्ण सरोकारवालाको सहयोग आवश्यक रहेको वडा कार्यालयले जनाएको छ। वडाध्यक्ष महराले शिक्षा बालबालिकाको मौलिक अधिकार भएकाले आर्थिक अवस्था, पारिवारिक परिस्थिति वा सामाजिक अवस्थाका कारण कुनै पनि बालबालिका आधारभूत शिक्षाबाट वञ्चित हुन नदिन स्थानीय तहबाट उपलब्ध स्रोत–साधन परिचालन जनाउँदै विद्यालयबाहिर रहेका बालबालिकालाई पुनः विद्यालयमा फर्काउने बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img