कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगर स्थित रेडियन्ट माध्यमिक विद्यालयको आयोजनामा “गीता ज्ञान अभिमुखिकरण कार्यक्रम” सम्पन्न भएको छ । विद्यार्थीहरुलाई श्रीमद् भगवद् गीताको बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा सो विद्यालयमा अध्ययनरत कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो । उक्त अभिमुखिकरण कार्यक्रममा सहभागी विद्यार्थी तथा शिक्षकहरुलाई योगाचार्य सुरेन्द्र ओझाले भगवद् गीतामा उल्लेख गरिएका श्लोक, अध्याय, गीताको अर्थ, भाव तथा समग्र सारको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
विद्यार्थीहरुलाई भगवद् गीतामा उल्लेख भएका कुराहरुबारे जानकारी गराएर विद्यार्थीहरुमा अनुशासन, नैतिकता तथा संस्कारको बोध गराई सोच र मनलाई असल बाटो तर्फ बदल्न सहयोग पुग्ने अपेक्षा लिई गीता ज्ञान अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सूर्य बहादुर चन्दले बताउनुभयो । साथै उहाँले गीताको अर्थ बुझ्न सकेमा विद्यार्थीहरुको बौद्धिक, सामाजिक र नैतिक विकास सँगै समग्र व्यक्तित्व विकासमा सहयोगी बन्नुका साथै भविष्यमा सक्षम र जिम्मेवार नागरिक बन्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
