प्यारा भविष्यका पुस्ताहरू
अथाह माया अनि सम्झना ।
वि.सं. २०८२ सालको १७ औं गणतन्त्र दिवस दिवसको शुभ अवसरमा आज म गणतन्त्रको आगमन, जनप्रतिनिधि, राजनीतिक फेरबदल सँगै आशा, सपना, सङ्घर्ष, लडाइ, पीडा, रगत, आसु र पसिनाको एउटा अद्भुत यात्रामा तिमीलाई लग्न चाहान्छु । गणतन्त्रको अर्थ हेर्ने हो भने जनताले चुनेका प्रतिनिधिहरूले उनीहरू माथि शासन गर्ने प्रणाली हो । यसमा जनतालाई सर्वोच्च मानिन्छ । यो विश्वमा रहेका अनेकौँ शासन पद्धति मध्ये उत्कृष्ट मानिन्छ । गणतन्त्र अपनाएका देशहरूमा पनि फरक फरक गणतान्त्रिक विशेषता रहेका छन् । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक भएको कुरा तिमीलाई थाहा छ । यस पछाडिको ऐतिहासिक घटना यात्रामा म तपाईहरुलाई लग्न चाहान्छु ।

वि.सं. २०५० सम्म गणतन्त्रपक्षीय मत र राजतन्त्रको विरोधमा सङ्घर्ष भएको दशकौँ बितिसक्दा पनि यो विषय जनस्वीकारोक्तिको विषय बनेको थिएन । बरु वि.सं. २०५८ जेठ १९ मा भएको राजदरबार हत्याकाण्ड पछि भने राजतन्त्रको सट्टा गणतन्त्र पनि देशमा ल्याउन चाहाने धेरै भए । गणतन्त्रको एजेन्डा व्यापक रूपमा फैलाउन माओवादीको जनयुद्धको ठुलो भूमिका थियो । यसै बिच वि.सं. २०६१ माघ १९ गते तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवालाई पदबाट हटाएर राजा ज्ञानेन्द्रले सत्ता सञ्चालन गर्न आए । त्यसपछि उनको सक्रीय शासन प्रणालीमा रहने चाहानाले राजतन्त्र विरोधी मत बढायो र विभिन्न राजनीतिक दल एकजुट हुन थाले । माओवादी र राजा ज्ञानेन्द्रको बढ्दो प्रभाव देखेर शासन प्रणालीबाट बाहिरिएका संसदीय दलहरुले १२ बुदे सम्झौता गरी राजतन्त्र हटाएर गणतन्त्र स्थापित गर्नुपर्ने मत राखेका थिए । उनीहरुको मतलाई वि.सं. २०६२ चैत २४ मा सुरु भएको दोस्रो जनआन्दोलनले देशव्यापी समर्थन जनायो । लाखौँ जनता सडकमा उत्रिए र राजा ज्ञानेन्द्रलाई घुँडा टेकाए । देशभरि गणतन्त्रको धुन घन्किन थाल्यो । पछि दलहरूले विसं २०६३ पुषमा अन्तरिम संविधानमा तेस्रो संशोधन गरी नेपाललाई लोकतान्त्रिक गणतन्त्र मुलुक राष्ट्र घोषणा गरे ।

वि. सं. २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले विधिवत रूपमा नेपाल गणतन्त्रात्मक मुलुकमा परिणत भएको निष्कर्ष निकाल्दै प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने प्रचलन सुरु भयो । नेपालको राजनीतिक इतिहास एकदमै फरक र रोमाञ्चक थियो । त्यसपछि कति राजनीतिक घटनाहरू भए, नयाँ कानुन कानुन पनि बने । गणतन्त्रले जनताको अधिकार सुनिश्चित गरेर सरकारले दिने सेवा सुविधा जनताको घर दैलोमामा पुगाउनु पर्छ । गणतन्त्रको विशेषता भनेकै सबै लिङ्ग, जातजाती, धर्म, समुदाय, परम्परा भएका व्यक्तिलाई समान अधिकार दिनु हो । यसले जनताको आवाजलाई प्रतिनिधित्व गर्छ । हरेक व्यक्ति सरकारमा पुगेर आफ्नो देश चलाउन सक्ने अवस्था गणतन्त्रले निर्माण गर्छ । सरकारले गरेका निर्णय जनताको पक्षमा नभएमा जनताले खुला रूपले आवाज उठाउन सक्छन् । आफ्नो हक अधिकारको लागि लड्न सक्छन् । कानुन सबैका लागि समान रहन्छ । सरकारबाट जनता डराउने नभएर जनताको पक्षमा सरकारको झुकाव हुनुपर्छ । जनताद्वारा जनतामाथि जनताको लागि गरिने शासन गणतन्त्र हो ।

हाम्रो वर्तमान नेपालमा कानुनी रुपमा मात्रै गणतन्त्र भित्रिएको छ । जनताले गणतान्त्रिक मुलुक नेपालबाट कुनै फाइदा, सुविधा पाउन सकेका छैनन् । उनीहरूले सधैँ आफ्नो अधिकार पाउनका लागि सडकमा उत्रिएर दुःख पाउनु परेको छ । जनताले चुनेका प्रतिनिधि जनताको आँसुमा राजनीति गरिरहेका छन् । ठुला ठुला सपना देखाएर भावनात्मक जालोमा बाँधेर निर्वाचन जित्छन् तर सरकारमा पुग्दा उनीहरूको रवैया बदलिन्छ । सायद सत्ता र शक्ति उन्मादबाट बाहिरिन सक्दैनन् होला । भ्रष्टाचारलाई नै जीवनको एक मात्र लक्ष्य बनाएर उनीहरू शासन गरिरहेका छन् । देशमा युवाका लागि पर्याप्त रोजगारीका अवसर छैनन् । कलकारखाना तथाउद्योगहरु सञ्चालन गर्न सकेका छैनन् । व्यापार व्यवसाय गर्ने वातावरण नै छैन् । जसले गर्दा युवाहरु रहरले नभएर बाध्यताले विदेश छिरिरहेका छन् । धन कमाउने आसाका साथ हवाइजहाज चढेर विदेश जाने युवा बाकसमा फर्किरहेका छन् । यो भन्दा ठुलो प्रमाण के नै चाहिन्छ गणतन्त्र व्यवहारिक नभएको पुष्टि गर्नका लागि ? उनीहरूको अभिभावक (देश) नै आफ्नो नभएपछि उनीहरूले विदेशमा खै कुन्नि कसबाट सुरक्षा र साथको आसा राख्न सक्छन् । यो एउटा विडम्बना हो ।
नेपालमा सम्भावना नभएका पनि त होइनन् तर भनिन्छ एउटा तालमा मरेको माछा हालेपछि ताल नै गन्हाउँछ । त्यस्तै छ नेपालको गणतन्त्र । सबै नेताहरू भ्रष्ट छन् । पूरै व्यवस्था नै ध्वस्त भएको छ । यहाँको राजनीतिक अस्थिरताको त के कुरा गर्नु? विद्यार्थीले पढ्दा प्रचण्ड प्रधानमन्त्री, परीक्षा दिदा केपी ओली सरकारमा नतिजा आउँदासम्म शेर बहादुर देउवा प्रधानमन्त्री बन्ने अवस्था पुगिसकेको छ । जनताले आफ्नो सङ्घर्षको सट्टामा केवल निराशा र दुःख पाएका छन् । यो कस्तो गणतन्त्र हो ? गणतन्त्र अँगाल्नु नै नेपालको समस्या हो र ? जनताले जीवनका आधारभूत आवश्यकता पूरा गर्न लड्नु पर्ने अवस्था छ । शिक्षा, स्वास्थ्य क्षेत्रमा विकास छैन । विकासका पूर्वाधार निर्माण गर्ने कुरो नै छैन । नेपाल प्राकृतिक, सांस्कृतिक रूपमा धनि देश हो । यहाँ विकासको प्रशस्त सम्भावना छ । यहाँका अटल हिमालहरू, नदीनाला, तालतलैया, वन्युजन्तु सबै सम्भावनाका उदाहरण हुन् । दृश्यावलोकन गर्न योग्य कति धेरै ठाउँहरू छन् । त्यहाँ विकासका पुर्वाधार निर्माण लगानीकर्ताका लागि उपयुक्त वातावरण तथा नीतिनियम बनाएर, राजनीतिक स्थिरता ल्याएर देशलाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्ने चाहाना छ । यहाँका स्थानीय कलाकौशल, लोकसंस्कृति, लोकशील्प लगायतका थुप्रै कुराहरु विश्व मञ्चमा पुगेको हेर्ने रहर छ ।
फेवा ताल तालमा हजारौं पर्यटकहरू बोटिङ गरिरहेको दृश्य अवलोकन अवलोकन गर्नु छ । नारायणी, बागमती नदीमा र्याफ्टीङको दृश्य सोच्दा नै मन फुरुङ्ग भएर आउँछ । यहाँ भएका स्रोतसाधन उचित रूपमा परिचालन गरेर उद्योग कलकारखाना खोल्न सकिन्छ । व्यापार व्यवसायमैत्री नियमहरू बनाएर उनीहरूलाई प्रवर्धन गर्नु हाम्रो सपना हो। महिला सशक्तिकरणलाई सामाजिक कार्यान्वयनमा ल्याउन सकिन्छ । महिलाले घर मात्रै नभएर देश चलाउन सक्ने कुरो बुझेर सोही अनुसारको वातावरण सिर्जना हुनु पर्छ । यहाँका अनेकौँ जातजाती, संस्कृति, परम्परा, समुदायका व्यक्तिलाई एकतामा बाधेर उदाहरण बन्नु छ । हाम्रो परम्परा र पहिचानको संरक्षण गर्नुपर्छ । माधवप्रसाद घिमिरेले भनेको झैँ नाँचौला कहाँ बैसको तालमा मादलै नरहे, नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’ यी शब्दहरू सधैँ मन मष्तिस्कमा आइ रहन्छन् । हामीले गरेका गल्ती भविष्यको पुस्ताले नगरून भन्ने हाम्रो चाहाना हो । तिमी चिल्लो सडक, केबलमा चल्ने बस, विद्युतीय यातायातका साधनमा रमाएको होलौ, ठूला ठूला सहरमा गगन चुम्ने संरचना मात्रै देख्ने छौ । सबै कार्यमा सूचना प्रविधिको जादु हेर्दै छौ । सायद मैले कल्पना गरेको नेपाल कल्पनामै सिमीत रह्यो कि ?
मैले देखेको समृद्ध, सुखी नेपाल तिमीले पायौ होला र ? सधैँ राष्ट्रप्रेमको सिद्धान्त तिमीले अपनाउनु पर्छ । समतामूलक विकास वरिपरि भएको होला । मानिस फ्रान्स, कस्मीर, स्वीजरल्याण्डको सट्टा अब नेपाल आउन रमाउँछन् होला । ठुला ठुला करकारखाना सञ्चालन भए होलान् । व्यापार व्यवसाय फस्टाएको होला । महिला, पुरुष, हिन्दु, मुस्लिम, बाहुन, क्षेत्री भन्ने बानी हट्यो होला । तिमीबाट धेरै अपेक्षा राखेका छौँ । तिमीले नेपाललाई विश्वमा चिनाउन उदाहरणीय भूमिका खेल्ने छौ भन्ने आशा छ । गणतन्त्रको यो प्रणालीमा तिमीले भरपर्दो, अनुभवी नेता छान्ने छौ । आफ्नो मौलिकता र संस्कृतिलाई जति नै आधुनिकता नभुल्नु । नेपालको वर्तमानको अवस्था चर्चा गर्दै गयो र भविष्यका सपना बुन्दै गर्दा ठुलो प्रश्न मनमा उठिरहन्छ । गणतान्त्रिक व्यवस्था सुशासन कि भ्रष्टाचारको आधार ? सुशासन भनेको सरकारले पारदर्शिता कायम गरी सहजै रूपमा जनतालाई सेवा सुविधा उपलब्ध गराउनु हो । यो भनेकै गणतन्त्रका अनेकौँ सिद्धान्त मध्ये एक हो । हाम्रो देशको संविधानमा यसको व्याख्या गरिएता पनि कार्यान्वयन भने हुन सकेको छैन । यहाँका नेता नातावाद, कृपावादमा आधारित छन् । कुनै पनि व्यक्तिलाई उसको सिप, दक्षता भन्दा पनि उसले बुझाएको रकमका आधारमा जागिर दिइन्छ । शिक्षा, स्वास्थ्य क्षेत्रमा पंनि आफ्ना व्यक्तिलाई प्राथमिकता दिइन्छ । हरेक क्षेत्र अहिले भ्रष्टाचारले अपवित्र भएको छ ।
यसै बिच गणतन्त्रको भविष्यका बारेमा पनि विभिन्न प्रश्नहरू उठ्छन् । खासमा यो व्यवस्था गलत होइन नि त । यहाँ भएका राजनीतिक दलका नेताहरू खराब हुन् । आजभोलि राजावादी आन्दोलन पनि चर्किएका छन् । नेताहरुबाट जनताको विश्वास उठिसकेको छ । तर उनीहरू नेताहरुको विपक्षमा नभएर गणतन्त्रको विपक्षमा उभिएका छन् । अहिले राजा आऊँ, देश बचाऊ भनिरहेका छन् । अहिलेको युवाले गणतन्त्रको सुन्दर पक्ष बुझ्न सकेका छैनन् । यसले गणतन्त्रको भविष्य संकटमा देखिन्छ । व्यवस्थाको विरुद्धमा उभिनुभन्दा उनीहरूले भ्रष्ट नेताको विपक्षमा उठ्नु पर्ने हो । हामी लोकतान्त्रिक गणतन्त्र देश नेपालका नागरिकले असल प्रतिनिधि निर्वाचन गर्न असफल भए भन्दैमा गणतन्त्र नै फाल्ने सपना देख्नु गलत हो । नेपालको समग्र राजनीति बुझ्न अलि गाह्रो छ । नेपालमा अझैँ पनि भरपर्दो सरकार बन्न सकेको छैन । जनता निरास छन् । तर देशका निम्ति लड्न सदा तयार छन् । हामी भविष्यमा एक समृद्ध, सुखी नेपालको कल्पना गरिरहेका छौँ । क्रान्ति गर्न अझै बाँकी नै छ । नेपालले ठूलो यात्रा तय गर्नुपर्ने छ । म आशा गर्छु मैले चाहे जस्तै नेपालमा तिमी बाँच्ने छौ र गणतन्त्रलाई पुज्ने छौ । यी सबै कुरा कुरा भनिरहँदा तिमी राष्ट्रप्रेम नभुल्नु, देशका लागि लड्नु र क्रान्ती गर्नु भन्दै म पत्र टुङ्ग्याउछु ।
जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी !
नेपालको हित चाहाने
शुभचिन्तक
लेखिका : निर्देशिका जोशी सार्क एजुकेशनमा कक्षा १० की छात्र हुन् ।
