कञ्चनपुर: हेमोग्लोविनोप्याथी “सिकल सेल एनिमिया तथा थालासेमिया” बारे बेल्डाँडी गाउँपालिकामा सचेतना कार्यक्रम सम्पन्न भएको छ।

मंगलबार हेमोग्लोविनोप्याथी अन्तर्गत पर्ने “सिकल सेल एनिमिया तथा थालासेमिया” रोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बेलडाँडी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सरोकारवालाबीच सचेतना कार्यक्रम सम्पन्न भएको हो।

स्वास्थ्य शाखाको आयोजनामा तथा बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सञ्चारकर्मी तथा सामाजिक अगुवाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख अरबिन्द्र कुमार शाहीले हेमोग्लोविनोप्याथी अन्तर्गत पर्ने सिकल सेल एनिमिया र थालासेमियाबारे जानकारी गराउँदै यी रोगहरू रगतसँग सम्बन्धित अनुवांशिक रोग भएको बताए।

उनले भन्नू भयो, थालासेमिया शिशु जन्मेको तीन महिनादेखि पाँच/ छ वर्षको उमेरसम्म देखिन सक्ने रोग हो। उक्त रोगका कारण शरीरमा हेमोग्लोबिन उत्पादनमा समस्या उत्पन्न भई अक्सिजनको प्रवाहमा असर पुगाउन्छ।
स्वास्थ्य शाखाले प्रस्तुत गरेको तथ्यांक अनुसार कञ्चनपुर जिल्लामा हालसम्म २ सय ८९ जना सिकल सेल रोगी पहिचान भएका छन्। जसमध्ये बेलडाँडी गाउँपालिकामा २२ जना, भीमदत्त नगरपालिकामा २२ जना, बेदकोट नगरपालिकामा १६ जना, शुक्लाफाँटा नगरपालिकामा २० जना, कृष्णपुर नगरपालिकामा ६१ जना, लालझाडी गाउँपालिकामा २९ जना, पुनर्वास नगरपालिकामा २४ जना तथा बेलौरी नगरपालिकामा ९५ जना बिरामी रहेका छन्।
कार्यक्रममा नेपालमा हेमोग्लोविनोप्याथी रोगको अवस्था, नवजात शिशु परीक्षण, विवाहपूर्व परीक्षणको आवश्यकता तथा थारु समुदायमा देखिएको जोखिमबारे समेत जानकारी गराइएको थियो। पश्चिम नेपालका केही सामुदायिक अध्ययनहरूले थारु समुदायमा करिब पाँच प्रतिशतसम्म बिटा थालासेमिया विशेषता रहेको देखाएको जानकारी कार्यक्रममा प्रस्तुत गरिएको थियो।
सिकल सेल रोगको पहिचानका लागि रगत परीक्षण गर्नुपर्ने, परीक्षणका लागि विशेष तयारी वा खाली पेट बस्न आवश्यक नपर्ने तथा रगत चढाउनुअघि परीक्षण गराउनु उपयुक्त हुने जानकारी पनि कार्यक्रममा दिइएको थियो। रगत चढाइसकेको अवस्थामा कम्तीमा एक महिनासम्म परीक्षण नगर्न सुझाव दिइएको थियो।
कार्यक्रममा बोल्दै बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण विक ले सिकल सेल एनिमिया तथा थालासेमिया जस्ता अनुवांशिक रोगबारे समुदायस्तरमै व्यापक जनचेतना फैलाउन आवश्यक रहेको बताए।
उनले भने, “सिकल सेल एनिमिया तथा थालासेमिया जस्ता रोगको समयमै पहिचान र रोकथामका लागि जनचेतना नै सबैभन्दा प्रभावकारी माध्यम हो। समुदायका हरेक घरपरिवारसम्म सही सूचना पुग्न सके भविष्यमा यस्ता रोगबाट हुने जटिलता न्यूनीकरण गर्न सकिन्छ। त्यसैले स्थानीय तहदेखि समुदायस्तरसम्म सबै पक्षले सचेतनामूलक अभियानलाई प्राथमिकता दिनुपर्छ।”
त्यसैगरी गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना ले रोग नियन्त्रण र रोकथामका लागि सबै क्षेत्रको साझा प्रयास आवश्यक रहेको बताए। उनले भने, “सिकल सेल एनिमिया तथा थालासेमिया जस्ता अनुवांशिक रोगबारे समयमै जानकारी र परीक्षणको संस्कार विकास गर्न सकियो भने यसको जोखिम धेरै हदसम्म कम गर्न सकिन्छ। समाजका हरेक घरसम्म सचेतना पुग्ने गरी अभियान सञ्चालन गर्न आवश्यक छ। स्वास्थ्य संस्थाहरू, जनप्रतिनिधि, सञ्चारमाध्यम र समुदाय सबै मिलेर अघि बढे मात्र यस्ता रोगको रोकथाम तथा व्यवस्थापनमा प्रभावकारी सफलता हासिल गर्न सकिन्छ ।”
कार्यक्रममा सहभागीहरूले हेमोग्लोविनोप्याथी सम्बन्धी रोगहरूको पहिचान, परीक्षण, रोकथाम र व्यवस्थापनका विषयमा जानकारी आदानप्रदान गर्दै समुदायमा जनचेतना विस्तार गर्न सामूहिक पहल आवश्यक रहेकोमा जोड दिएका थिए ।






