जेष्ठ नागरिक शब्द पुनः समावेश गर्न कञ्चनपुरबाट प्रधानमन्त्रीलाई ज्ञापन


महेन्द्रनगर: राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल जिल्ला कार्यसमिति कञ्चनपुरले जेष्ठ नागरिकको हक, हित र सम्मानसँग सम्बन्धित विषय उठाउँदै प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पेश गरेको छ। साेमबार समाजका कञ्चनपुर जिल्ला अध्यक्ष पुरुषोत्तम अर्याल र सचिव महादेव भट्टको नेतृत्वमा कञ्चनपुर जिल्लाभरका विभिन्न पालिकाका जेष्ठ नागरिक प्रतिनिधिहरूको सहभागितामा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी माेहनचन्द्र जाेशी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो।

ज्ञापनपत्रमा २०७४ सालदेखि जेष्ठ नागरिकहरूको सम्मान र अधिकार संरक्षणका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय कायम रहेको उल्लेख गर्दै हाल मन्त्रालयको समायोजन तथा पुनर्गठनका क्रममा “जेष्ठ नागरिक” शब्द हटाइएकाले देशभरका ठूलो संख्यामा रहेका जेष्ठ नागरिकहरूलाई उपेक्षा गरिएको महसुस भएको जनाइएको समाजका जिल्ला अध्यक्ष अर्यालले बताउनु भयाे। समाजले मन्त्रालयको नाममा पुनः “जेष्ठ नागरिक” शब्द साविक बमोजिम समावेश गरी जेष्ठ नागरिकहरूको पहिचान, सम्मान र अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेको उनकाे भनाई छ ।

ज्ञापनपत्रमा जेष्ठ नागरिकहरूको हित संरक्षण तथा उनीहरूको योगदानको कदर गर्दै राज्यका सबै निकायले जेष्ठ नागरिकमैत्री नीति तथा कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ। उक्त ज्ञापनपत्रको बोधार्थ राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल केन्द्रीय कार्यालय कपिलवस्तु तथा जिल्ला समन्वय समिति कञ्चनपुरलाई समेत पठाइएको जनाइएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img