हेमा भट्ट/ कृष्णपुर : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का जिल्ला संयोजक तथा सामाजिक जागरुक व्यक्तित्व खेमराज पाण्डेले आफ्ना छोरा जगदीश पाण्डेयीलाई आज बिहानै कृष्णपुर नगरपालिका–४ स्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा कक्षा ६ मा भर्ना गराएका छन्। यो भर्ना केवल एउटा निजी निर्णय नभई, सार्वजनिक शिक्षामा नागरिकको भरोसा पुनःस्थापना गर्ने र भविष्यको आधार तयार पार्ने ऐतिहासिक कदमको रूपमा लिइएको छ।

संयोजक पाण्डेले विद्यालयमा पहिलो दिनको अनुभव भावुक ढंगमा यसरी बयान गरे: “बिहान ६:३० बजे विद्यालय पुगेका मेरा छोरा केही बेरमै रुन थाले — बेन्च र कक्षा कोठा धुलो भएको गुनासो गर्दै। मैले उनलाई सम्झाएँ — विद्यालय लामो समयपछिको खुल्ला, शिक्षकहरू आन्दोलनबाट फर्कंदै छन्, अब नियमित सरसफाइ हुन्छ। म आफैं पनि यहीँ पढेको हुँ, हामी त भुइँमा बसी पढ्थ्यौं। अहिले त बेन्च, टेबुल, शिक्षक अनि स्थानीय सरकार पनि छ। चिन्ता नलेऊ बाबु, व्यवस्था गर्नेछु भने।” यो घटनाले शिक्षा व्यवस्थापन र वातावरण सुधारको खाँचोलाई उजागर गरिरहेको छ।

त्यसै सन्दर्भमा संयोजक पाण्डेले कृष्णपुर नगरपालिकालाई विशेष आग्रह पनि गरेका छन् “नगरपालिकाले आफ्ना सम्पूर्ण बालबालिकालाई सार्वजनिक विद्यालयमा भर्ना गर्ने स्पष्ट नीति र पठनपाठन सुधारको लागि अभिभावकलाई विश्वस्त पार्ने कार्यक्रम यथाशीघ्र ल्याउनु पर्छ। यो नीति आगामी आर्थिक वर्ष २०८२/०८३ को कार्यक्रम र बजेटमा समावेश गरी पारित गर्न म विशेष आग्रह गर्दछु।” संयोगवश, सोही विद्यालयमा उनका सहपाठी तथा हाल कृष्णपुर वडा नं. ५ का वडा सचिव प्रकाश चन्द्र कलौनी पनि आफ्ना छोरालाई भर्ना गराउँदै उपस्थित भएका थिए। दुवै मित्रले बाल्यकालको स्मृति बाँड्दै विद्यालय सुधारबारे संवाद गरे। संयोजक पाण्डेले अन्त्यमा भने, “सार्वजनिक विद्यालयहरू सुन्दर, सफा, पठनपाठन अनुकूल र प्रेरणादायी बनाउन हामी सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्छ।”







