झलारी : शुक्लाफाँटा नगरपालिका ९ सिसैयामा महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड झलारीले दुई दिने कृषि–तरकारी व्यवस्थापन तालिम शनिवार देखि सञ्चालन गरेको छ । साना किसान विकास लघुवित्तिय संस्था लिमिटेड शाखा कार्यालय अत्तरीय, कैलालीको वित्तिय सहयोगमा सञ्चालन गरिएको तालिमको उद्घाटन कार्यक्रमको सभापतित्व सहकारीका अध्यक्ष धनेश्वरी देवी भट्टले गर्नु भएको छ । तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथिमा वडा नं ९ का वडा अध्यक्ष रमेश बहादुर ऐर रहनु भएको छ ।

तालिम उद्घाटन गर्नु हुदै वडा अध्यक्ष ऐरले तालिममा सिकेको ज्ञानलाई व्यवहारमा उत्तार्नु पर्ने बताउनु भयो । रासायनिक मल, विषादीको प्रयोगलाई निरुत्साहीत गर्दै जैविक मलको प्रयोगलाई बढावा दिनु पर्ने उहाँले बताउनु भयो । किसानले उत्पादन गरेको कृषिउपजलाई बजारीकरण गर्नका लागि हाटबजार सञ्चालन गर्ने बारे योजना बनाउने कार्य भैरहेको उहाँले बताउनु भयो । सिचाईको सुविधका लागि वडामा ७५ बढी बोरिङ जडान गरिएको उहाँले बताउनु भयो । व्यवसयीक खेतीका लागि नगरपालिकाले संभाव्यता अध्ययन गरि सकेकाले योजनावद्ध रुपमा व्यवसायीक कृषिलाई उकास्ने योजना अघि सार्ने उहाँले बताउनु भयो ।

सहकारीका अध्यक्ष भट्टले सहकारीका माध्यमबाट महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि व्यवसायीक तालिम दिने कार्य संगै ऋण प्रवाहको कार्य गरि रहेको बताउनु भयो । सहकारीमा आवद्ध महिलाहरुको आयस्तर माथि उठाउनका लागि भरमग्दुर प्रयासमा रहेको उहाँको भनाई थियो । सहकारीबाट जुन प्रयोजनका लागि ऋण लगेको त्यसै प्रयोजनमा लगानी गरी प्रतिफल हाँसिल गर्नु पर्नेमा उहाँको जोड थियो । तालिममा शुक्लाफाँटा नगरपालिकाको कृषि विकास शाखाका प्रमुख करन सिंह बुढाएर र कृषि अधिकृत विनयराज जोशीले प्रशिक्षण गरि रहनु भएको छ ।

तालिममा चालिस बढी महिलाहरुको सहभागीता रहेको छ । तालिममा महिलाहरुलाई कृषि र तरकारी उत्पादनको महत्व,खाद्य सुरक्षा, जलवायू अनुकुलन खेती प्रणाली, तरकारी खेती सम्बन्धी आधारभूत जानकारी, मौसम अनुसारका तरकारीहरु, माटो व्यवस्थापन र गुणस्तर जाँच, मलजल प्रविधिहरु, बीउ उत्पादन, रोपण, नर्शरी तयार, उन्नत खेती प्रविधि, सिचाई प्रणाली, आधुनिक कृषि यन्त्रहरुको प्रयोग, रोग तथा किट नियन्त्रण, भण्डारण, प्याकेजिङ र ढुवानी सम्बन्धी जानकारी दिने कार्य हुने बताईएको छ ।






