झलारी : धार्मिक पर्यटकीय क्षेत्र मुडाका(मणिका) धाममा लागेको मेलाको शनिवार आय व्ययको विवरण सार्वजनिक गरिएको छ । बैजनाथ धार्मिक तथा पर्यटकीय विकास समितिका अध्यक्ष पूर्ण हमालको अध्यक्षतामा आयोजित कार्यक्रममा मेलाको आय व्ययको विवरण सार्वजनिक गरिएको हो । विकास समितिका पदाधिकारी, सल्लाहकार समितिका पदाधिकारी, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवि, पत्रकार, सर्वसाधारणको उपस्थीतिमा मेलामा भएको आय र व्ययको विवरण विकास समितिका सचिव डम्बर बहादुर ऐरले पढेर सुनाउनु भएको थियो । उहाँका अनुसार मेलामा आय रु २ लाख ४३ हजार ६ सय १३ रहेकोमा जस मध्ये व्यय रु १ लाख ७८ हजार १ सय ३९ रहेको छ । बचत रकम रु ६५ हजार ४ सय ७४ रहेको छ ।

आय तर्फ पूजा भेटिबाट सङकलित रकम रु ८ हजार ८ सय, दानपेटीबाट सङकलित रकम रु ९ हजार ७ सय ८८, सचिवालयबाट सङकलित रकम रु ७६ हजार ८०, बजार व्यवस्थापनबाट सङकलित रकम रु ७९ हजार ९ सय ९५, पार्किङबाट सङकलित रकम रु ६५ हजार ९ सय ५० र भण्डाका लागि सङकलित रकम रु ३ हजार रहेको सचिव ऐरले जानकारी दिनु भयो ।
यसैगरी व्यय तर्फ छपाई तथा स्टेशनरी खर्च रु ११ हजार ६ सय ९, टेन्ट तथा जनरेटर खर्च रु २३ हजार ६ सय, मेलामा भण्डारा खर्च रु १७ हजार १ सय ३०, दानपेटी निर्माण खर्च रु ११ हजार २५, पाईप तथा धारा खरिद रु १४ हजार १ सय ३०, व्याट्रि तथा बाइरिङ्ग सामान खरिद रु १२ हजार ३ सय, खानेपानी मर्मत तथा सरसफाई रु २८ हजार ८ सय, मेलामा सामान ओसार पसार रु ५ हजार २ सय, दमाहा मर्मत खर्च रु ३ हजार १ सय, टेङकर तथा जेसिविको तेल खर्च रु ९ हजार १ सय १५ रहेको छ ।
दमाहा बजाउनेलाई पारिश्रमिक रु ४ हजार, मूल पूजारीलाई दक्षिणा रु ५ हजार, पत्रपत्रिका तथा विज्ञापन खर्च रु २ हजार, पार्किङ तथा बजार व्यवस्थापनमा खटिएकालाई पारिश्रमिक रु २७ हजार ५०, मेला व्यवस्थापनमा पेट्रोल खर्च रु ४ हजार रहेको छ । मेला फागुन २३ र २४ गते सम्पन्न भएको हो ।
