राजेन्द्रप्रसाद पनेरु / कञ्चनपुर : तिव्ररुपमा भैरहेको शहरीकरणले केही वर्ष देखि भँगेराको सङख्या नाटकीय रुपमा घटदै गएको पाईएको छ । पुराना घरहरुका ठाउमा पक्कि घरहरु बन्न थालेपछि भँगेराको बासस्थान मासिदै जान थालेको हो । भँगेराको चिरविर गरेको आवाज सुनिए पछि विहान भएको थाहा हुन्थ्यो । घरका आँगनमा खेल्दै रमाउदै गरेका भँगेरा देखिने गरेका थिए । “ति सबै विगत भैसके” शुक्लाफाँटा नगरपालिका ३ का पहरु दहितले भन्नुभयो, “अब नत भँगेरोको चिरविर गरेको आवाज सुनिन्छ, नत पहिले जस्तो भँगेरा आँगनमा राखेको विस्कुन खानका लागि आउने गरेका छन ।” आक्कल झुक्कल मात्रै भँगेरा देखिने गरेको उहाँ बताउनु हुन्छ ।

तिब्ररुपमा भैरहेको शहरीकरणलाई उहाँ भँगेरा विनासको कारण मान्नु हुन्छ । भँगेरालाई गुँड लगाउनका लागि ठाउनै नभएपछि सङख्या घटदै जानु स्वभाविक भएको उहाँको भनाई रहेको छ । भँगेराको सङख्या घटदै जानु चिन्ताको बिषय भएको उहाँ बताउनु हुन्छ ।चराविज्ञ हिरुलाल डगौराका अनुसार मोवाईलका टावरबाट निष्कने विकिरणले भँगेराहरुको दिशा पत्ता लगाउने प्रणालीलाई असर गर्दछ । प्रजनन क्षमतामा प्रतिकुल असर पर्दछ । विकिरणले मष्तिष्कमा असर गर्दा भँगेराको मृत्यु हुने गरेको पाईएको छ ।“ध्वनी प्रदूषणले पनि भँगेरालाई असर हुने गर्दछ” उहाँले भन्नुभयो, “खेतवारीमा किसानले बिषादीको अत्यधिक प्रयोग गर्दा भँगेराको मृत्यु हुने गरेको छ ।” खेतवारीमा हुने किरा बिषादीका कारण मर्ने गरेकाले आहाराको पनि भँगेरालाई कम हुदै गएको उहाँले बताउनु भयो । काग, विरालो, अन्य शिकारी चराहरुले भँगेराको शिकार गर्ने भएकाले पनि सङख्यामा कमी देखिएको उहाँको भनाई रहेको छ ।

उहाँका अनुसार भँगेरा जैविक विविधता र इकोसिस्टमका लागि महत्वपूर्ण रहेको छ । भँगेरा जोगाउनका लागि घर घरमा गुँड लगाउन सक्ने व्यवस्था गरिनु पर्छ । गुँड लगाउने वातावरण बनाउने कार्य संगै छानामा दाना र पानीको व्यवस्था जस्ता स सना कार्य गरेपनि भँगेरालाई जोगाउन सक्छौं । भँगेरालाई जोगाउने कुरा मनमा लिएर संयमता पूर्वक बिषादीको प्रयोग किसानले गर्नु पर्ने उहाँ सल्लाह दिनु हुन्छ । जनचेतना जगाउने उद्देश्यले प्रत्येक वर्षको मार्च २० मा भँगेरा दिवस मनाउने गरिन्छ । यस वर्षको भँगेरा दिवसको नारा ‘म भँगेरालाई माया गर्छु’ (आइ लभ स्प्यारो) रहेको छ ।चराको संरक्षणको क्षेत्रमा कार्य गर्ने संघ संस्थाले भँगेरा बारे सचेतना फैलाउने कार्य गरेका छन । चरा प्रेमीहरुले आ आफनो घर वरिपरि बीस मिनेट भँगेरा गणनाको कार्य गरेका छन । कञ्चनपुरमा भँगेरालाई गुँड बनाउन सहजताका लागि घरको बरण्डा, घर वरिपरिका रुखहरुमा कागजका बट्टा राख्ने कार्य गरिएको चरा संरक्षणकर्मी सुभन चौधरीले बताउनु भयो । विद्यार्थीहरु माझ छलफल अन्तक्र्रिया लगायतका कार्यक्रम पनि गरिएका छन ।







