पप्पु गुरुङ्ग, दोधारा । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले कञ्चनपुरको भीमदत्त नगरपालिका र वडा नम्बर १८ कार्यालयलाई ईको पार्क संरक्षण, सम्वर्धन र व्यवस्थापन अन्तर्गतका क्रियाकलापहरु हस्तान्तरण गरेको छ् । एनएनएसडब्ल्यूए र डीसीए नेपालको साँझेदारीमा सञ्चालित सुदृढ परियोजनाको ‘गिफ्ट प्लान्टेशन सपोर्ट’ कार्यक्रमद्वारा ईको पार्कको संरक्षण, सम्वर्धन र व्यवस्थापन अन्तर्गत सम्पन्न क्रियाकलापहरुलाई भीमदत्त नगरपालिकाका नगरउपप्रमुख नीलम लेखक जोशी र वडा नम्बर १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटालाई संयुक्तरुपमा हस्तान्तरण गरिएको हो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बढ्दो जलवायु परिवर्तनको असरबाट शहरी क्षेत्र बढी प्रभावित भएको अवस्थामा कार्वन उत्सर्जन कम गर्न र वातावरणीय सन्तुलन कायम गर्न साथै खुल्ला क्षेत्रको संरक्षण गरि हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले ईको पार्कमा रु. २० लाख बराबरको क्रियाकलापहरु सफलतापूर्वक सम्पन्न गरि हस्तान्तरण गरिएको बताउनुभयो ।

भीमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम जोशी लेखकले एनएनएसडब्ल्यूएले ईको पार्कको संरक्षण, सम्वर्धन र व्यवस्थापन अन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको बताउनुभयो । उहाँले ईको पार्कको संरक्षण गर्नु पर्ने नगरपालिकाको दायित्व भएको तर्क गर्दै ईको पार्कको थप स्तरोन्नती गर्नका लागि बजेट विनियोजन गर्ने बताउनुभयो । उहाँले स्थानीय नागरिक साथै सबै सरोकारवाला निकायले ईको पार्कको संरक्षण गर्नु पर्नेमा जोड दिनुभयो । भीमदत्त नगरपालिका वडा नम्बर–१८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले एनएनएसडब्ल्यूए र डीसीए नेपालले बजार नजिक ईको पार्कमा लगानी गरेर वातावरणलाई स्वच्छ र सफा बनाउने काम पारदर्शी रुपले सम्पन्न गरेको बताउनुभयो ।

उहाँले ईको पार्क व्यवस्थापनका लागि अझै धेरै काम गर्नुपर्ने भएकोले यसमा थप लगानीका लागि सबै सं–संस्था साथै सरोकारवाला निकायहरु संग आह्वान गर्नुभयो । सुदृढ परियोजनाको ‘गिफ्ट प्लान्टेशन सपोर्ट’ कार्यक्रम अन्तर्गत ईको पार्कको सुरक्षा सुनिश्चित गर्न चारै तिर तारजालीको घेरवार गरिएको छ् । त्यस्तै पार्कको प्रवेशद्वारलाई सुधार गरि व्यवस्थित र आकर्षक बनाइएको छ् । पार्कमा हरियाली कायम राख्न र बोटबिरुवा तथा घाँसहरुलाई नियमित सिंचाइ प्रदान गर्न बोरिङ जडान गरिएको छ् । त्यस्तै पार्कको सौन्दर्य वृद्धिका लागि चाइनिज दुबो व्यवस्थापन गरिएको छ् । पार्क भित्र आगन्तुकहरुको सहज आवत जावतका लागि पैदलमार्गहरु स्तरोन्नती गरिएको छ् ।

परियोजनाले स्थानीय समुदाय, विद्यार्थी र स्वयंसेवकहरुको सहभागितामा नियमित रुपमा वृक्षारोपण अभियान सञ्चालन गरेको छ् । पार्कमा ३ हजार ९ सय विभिन्न प्रजातिका फलफुल तथा १२ सय बिरवा रोपिएका छन् ।
परियोजनाले भीमदत्त नगरपालिकाको वडा नम्बर १८ मा अवस्थित इको पार्कलाई व्यवस्थित र आकर्षक बनाउदै वातावरणीय संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको सरोकारवालाहरुले बताएका छन् ।






