राजेन्द्रप्रसाद पनेरु/ कञ्चनपुर : बन्यजन्तुलाई पानी पिउनका लागि शुक्लाफाँटा नगरपालिकाका दुई सामुदायिक वन भित्र तीन वटा कृतिम पोखरी निर्माण गरिएका छन । सुनदेवी उपभोक्ता समितिले तराई भूपरिधि कार्यक्रम(ताल)को रु तीन लाखको सहयोगमा वातावरण मध्यवर्ती सामुदायिक वनमा दुई र नागेश्वर मध्यवर्ती सामुदायिक वन भित्र एक गरी तीन वटा कृतिम पोखरी निर्माण गरेको हो । पोखरीमा बाह्रै महिना एकनासको पानीको व्यवस्था मिलाउनका लागि बोरिङ जडान गरिएका छन । पोखरीमा जडान गरिएको बोरिङ मध्ये एक वटामा जङगली हात्तीले तार चुडाली दिदा सञ्चालनमा रहेको छैन भने अन्य सञ्चालनमा रहेका छन ।

सामुदायिक वनमा निर्माण गरिएका पोखरीको लम्बाई ६० मिटर र चौडाई ४० मिटर रहेको छ । गहिराई भने तीन मिटर जति रहेको छ । तीन वटै पोखरी ८० हजार लिटर पानी सङकलन गर्ने क्षमताका रहेका छन । पोखरीमा साना जनावरले पनि सहज रुपमा पानी पिउन सकुन भनेर गहिराई थोरै राखिएको छ । सामुदायिक वनमा निर्माण गरिएका पोखरीबाट बन्जयजन्तुलाई सुख्खायाममा पानी पिउन सहज भएको समितिका अध्यक्ष भरत बहादुर बिष्टले बताउनु भयो । शुक्लाफाटाँँँ राष्ट्रिय निकुञ्ज संगै जोडिएका दुबै सामुदायिक वन भित्र निलगाई, चितल, बदेल, खरायो, हात्ती, पाटेबाघ, चितुवा, ब्वाँसो, स्याल लगायतका जनावर ओहरदोहर गर्ने गर्दछन ।

“सुख्खायाममा सामुदायिक वन भित्र बन्यजन्तुलाई पिउने पानीको व्यवस्था नहुदा मानव बस्ती सम्म पुग्ने गरेका थिए” अध्यक्ष बिष्टले भन्नुभयो, “त्यसै कुरालाई मध्यनजगर गरी सामुदायिक वन भित्र पोखरी निर्माण गरेका हौं ।”पोखरीमा बाह्रै महिना एकनासको पानीको व्यवस्थाले विगतमा पानीको खोजी गर्दै बस्ती सम्म पुग्ने जङगली जनावर आउने क्रम रोकिएको उहाँको भनाई रहेको छ । पोखरी निर्माणले सामुदायिक वन भित्र जङगली जनावरको ओहरदोहरमा बृद्धि भएको नागेश्वर मध्यवर्ती सामुदायिक वनका अध्यक्षा जय बहादुर ऐरले बताउनु भयो । वन भित्र जुनसुकै बेला पनि जङगली जनावर देख्न सकिने उहाँको भनाई रहेको छ । “सुख्खायाममा सामुदायिक वन भित्र पिउने पानीको व्यवस्था नहुदा विगतमा थोरै मात्रै जनावर देखा पर्ने गरेका थिए” उहाँले भन्नुभयो, “अहिले चितल, बदेल, चितुवा लगायतका जनावर सहजै देख्न सकिन्छ ।” पूर्व पश्चिम राजमार्ग संगै जोडिएको सामुदायिक वन भएकाले यसलाई पर्यटकीय वनका रुपमा विकास गरिनु पर्ने उहाँको भनाई रहेको छ ।







