डिल्लीराज पन्त /कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका ६ मा उप निर्वाचन हुदैछ । रिक्त वडाध्यक्ष पदका लागि भीनपा ६ ऐठपुर शान्ति निकेतन माविमा मतदान हुन लागेको हो । निर्वाचन आयोग मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदानको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत लिलाराज अधिकारीले निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको बताए । मुख्य निर्वाचन अधिकृत अधिकारीले मतपत्र, मतपेटिका मतगणना सबै आवश्यक तयारी पुरा भएको बताए । ‘दलहरुको समझदारी गरे मतदान सम्पन्न भएकै दिन मत गणना गछौँ, ‘उनले भने, ‘६ उपकेन्द्र मार्फत मतदान हुनेछ, ४९ कर्मचारी खटिएका छन ।’

३०बैशाख ०७९ सालमा सम्पन्न भएको दोस्रो स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका निर्वाचित वडाध्यक्ष महेन्द्र खडकाको गत बर्ष निधन भएपछि निर्वाचन आयोगले उप निर्वाचन गरेको हो । मतदान स्थलमा सिसिटिभी क्यामेरा समेत जडान गरेको छ । यस अघि विद्यालयमै रहेको सिसिटिभी सहित अहिले थप जडान गरिएको छ । भीनपा ६का ५ हजार ४३४ मतदाताहरुले नयाँ कमाण्डर छान्ने भएका छन । वडाध्यक्षका लागि दुई स्वतन्त्र सहित १० दलका उम्मेदवार छन । नेपाली काँग्रेसबाट प्रकास बहादुर चन्द, नेकपा एमालेबाट बहादुर चन्द, नेकपा एकीकृत समाजवादीबाट जितेन्द्र बहादुर चन्द, नेकपा माओवादी केन्द्रबाट नानाराम कोली, राष्ट्रिय स्वतन्त्र पाटीबाट रामदत्त भट्ट, राप्रपाबाट शुशिल कुमार भट्ट, राप्रपा नेपालबाट दिल बहादुर धामी, जनमतबाट यादव चन्दा, नाउपाबाट हरिष डगौरा र स्वतन्त्र थानेश्वर प्रशाद लेखक, युवराज चन्द रहेका छन ।

काँग्रेस र एमालेका उम्मेदवार चन्दद्वय काका भतिजा, एमाले, राप्रपा उम्मेदवार चन्द र भट्ट मितज्यू, एमाले, समाजवादी उम्मेदवार चन्दद्वय नातिबाजे, काँग्रेस, एमाले, समाजवादी, माओवादीका उम्मेदवार चारै जना एकै भगवती टोलका रहेका छन । रास्वपा उम्मेदवार भट्ट शान्ति निकेतन माविमा अध्यक्ष, एमाले उम्मेदवार चन्द शान्ति निकेतन माविका पुर्व हेडसर, नाउपा उम्मेदवार पुर्व सशस्त्र प्रहरी रहेका छन । जनमतका उम्मेदबार शिक्षा क्षेत्र, राप्रपा र राप्रपा नेपालका उम्मेदवार व्यवसायी र स्वतन्त्र उम्मेदवार लेखक पुर्व पर्यटन बोर्डका कर्मचारी र अर्का स्वतन्त्र उम्मेदवार चन्द मासु व्यवसायी रहेका छन । १२वटै उम्मेदवारले चुनावप्रचारप्रसारका बेला जनताकै हितमा काम गर्ने प्रण गरेका छन । ५०प्रतिशत मत खस्ने अपेक्षा गरिएको छ । चुनावलाई लक्षित गरेर स्थानीय प्रशासनले वडाभरी शान्ति सुरक्षा चुस्तदुरुस्त पारेको जनाएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटाले निर्वाचन शान्ति सुरक्षा आवश्यक तयारी गरेको बताए ।







