कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ११ का विपन्न परिवारको आर्थिक अबस्थामा सुधार ल्याउनका लागि आज बाख्रा र गाई सहयोग गरिएको छ । लैङ्कीक हिंसामा परेका आर्थिक रुपमा विपन्न चार जनालाई बाख्रा, गाई र खुद्रापसल सञ्चालनका लागि सहयोग गरिएको हो । चारै जनालाई रु २० हजार बरावरको सहयोग गरिएको वडा अध्यक्ष शेर बहादुर साउदले बताउनु भयो ।

उहाँका अनुसार आदीवासी जनजाती समुदायका आर्थिक रुपमा विपन्न महिला कलावती रानालाई खुद्रापसल सञ्चालन गर्न सहयोग गरिएको छ ।यसैगरी, मञ्जु साउदलाई नश्ल सुधार गरिएको गाई, गीता सार्कीलाई एक बाख्रा तीन पाठापाठी र निर्मला जोशीलाई दुई वटा बाख्रा सहयोग गरिएको छ । अझै आर्थिक रुपमा अति विपन्न दुई जना महिलालाई सहयोग गरिने वडा अध्यक्ष साउदले बताउनु भयो । बाख्रा, गाई र खुद्रा पसलका सामान सहयोग कार्यक्रमा बोल्दै नगर उप प्रमुख कल्पना पन्तले थोरै सहयोगले पनि विपन्न परिवारको आर्थिक अबस्थामा सुधार ल्याउन सकिने बताउनु भयो ।

“दातृ निकायको सहयोगमा हिंसामा परेका विपन्न, एकल महिलालाई सहयोग गरेका छौं” वडा अध्यक्ष साउदले भन्नुभयो, “वडा कार्यालयका तर्फबाट आवश्यकताका आधारमा सीपमुलक, आयमूलक तालिम संगै व्यवसायीक कार्य गर्न इच्छुकलाई सहयोग उपलव्ध गराउन तत्पर रहेका छौं ।”







