झलारी : शुक्लाफाटाँ नगरपालिकाले शिक्षा ऐन नियमाली विपरित शिक्षकलाई काजसरुवा गरिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ । श्रीकृष्ण माध्यमिक विद्यालय झलारीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर सिंहले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत र नगर प्रमुखलाई ध्यानाकर्शण पत्र बुझाएको छ । नगरको पुरानो नमूना घोषणा गरिएको विद्यालयका माध्यमिक तहका पाँच,निम्न माध्यमिक तहका चार स्थायी दरबन्दीलाई शिक्षा ऐन, नियमावली, नगरपालिकाको स्थानिय राजपत्र विपरित र विद्यालय व्यवस्थापन समितिको सहमती विना अन्य विद्यालयमा काजसरुवा गरिएको जनाउदै अध्यक्ष सिंहले आपत्ति प्रकट गर्नु भएको छ ।

“काजसरुवा गरिएका शिक्षकको ठाउमा एक वटा स्थायी दरबन्दी, दुई राहत र छ जना नगर अनुदान कोटाका शिक्षक पदपूर्ति गर्नु पर्ने नगरपालिकाको पत्र प्राप्त भएको छ” उहाँले भन्नुभयो, “विद्यार्थीको पठनपाठन एवं कक्षा ११ को नयाँ भर्नामा समेत यस कार्यले नकारात्मक असर पर्दछ ।” यसबाट उत्पन्न हुने परिस्थीति प्रति नगर शाखा मार्फत नगरपालिकाको ध्यानाकर्शण गराउन विद्यालय व्यवस्थापन समितिको निर्णय नगरपालिकामा बुझाईएको उहाँले जानकारी दिनु भयो ।

नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृत नगरपालिका कार्यालयमा उपस्थीति नभएकोमा नगर उप प्रमुख कल्पना पन्त र निमित प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्रराज भट्टलाई ध्यानाकर्शण पत्र बुझाईएको छ । ध्यनाकर्शण पत्र बुझदै नगर उप प्रमुख पन्त र निमित प्रमुख प्रशासकिय अधिकृत भट्टले यस बारे नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृत कार्यालयमा आएपछि छलफल गरी निष्कर्शमा पुगिने बताउनु भयो । शिक्षक काजसरुवा सम्बन्धीको निर्णय नसच्याए विद्यालय कानुनी प्रकृयामा जाने र अदालतको फैसला नहुन्जेल सम्मका लागि विद्यालयबाट काजसरुवा हुने शिक्षकलाई हाजिर लगाउन नदिने निर्णय विद्यालय व्यवस्थापन समितिले गरेको छ ।







